close

‘सेक्स ट्र्याप’ मा पारेकाे भिडिओ लिक भएपछि पूर्व खानेपानी मन्त्रीले दिए साइबर ब्यूरोमा उजुरी

टेकपाना टेकपाना

चैत २३, २०७९ ९:१७

‘सेक्स ट्र्याप’ मा पारेकाे भिडिओ लिक भएपछि पूर्व खानेपानी मन्त्रीले दिए साइबर ब्यूरोमा उजुरी

काठमाडौं । आफ्नो अश्लील भिडिओ सामाजिक सञ्जालमा लिक भएपछि निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री तथा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले साइबर ब्यूरोमा उजुरी दिएका छन् ।

फेसबुक मेसेन्जर तथा विभिन्न मेसेजिङ एपका प्राइभेट ग्रुपहरूमा आदानप्रदान भइरहेको अश्लील भिडिओले आफ्नो चरित्रहत्या भएको भन्दै खानले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

अश्लील भिडियो बनाएर उनलाई ब्ल्याकमेल गरेको घटना ६ महिनाअघिको हो ।

फेसबुकमा 'पुजा अग्रवाल' नाम भएकी एक महिला खानसँग जाेडिन् । सामान्य कुराकानी हुँदा एक दिन एक्कासी आफ्नो शरीरको अर्धनग्न र गोप्य अंग देखाउन थालेपछि आफूले भिडिओ अफ गरी महिलाकाे अकाउन्ट ब्लक गरेकाे उनले उल्लेख गरेका छन् । 

‘सेक्स ट्र्याप’ मा पारी ब्ल्याकमेल गर्ने उद्देश्यले सो भिडिओ च्याट महिला (स्क्यामर) ले रेकर्ड गरेकी थिइन् । त्यसपछि खानकाे ह्याट्सएप नम्बरमा सोही भिडिओ पठाएर महिलाले तीन लाख रुपैयाँ माग गर्न थालिन् । रकम नदिने भन्दै खानले बाँके प्रहरीमा गत असोज २४ गते जाहेरी दिएका थिए ।

यस विषयमा प्रहरीले अनुसन्धान नसक्दै सामाजिक सञ्जालमा साे अश्लील भिडिओ च्याट आदानप्रदान हुन थालेपछि खानले साइबर ब्यूराेमा उजुरी दिएका हुन् ।

उनले यस्ताे भिडिओमार्फत आफ्नो चरित्रहत्या भएको तथा गोपनीयता र सम्मानपूर्वक बाँच्न पाउने हक हनन् भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

पछिल्लो अध्यावधिक: चैत २३, २०७९ १०:१७