close

स्टार्टअप सम्मेलनमा एलन मस्क र सुन्दर पिचाई आउने भन्दै यसरी बनाइयो २ हजार उद्यमीलाई मूर्ख

टेकपाना टेकपाना

चैत २२, २०७९ २२:३०

स्टार्टअप सम्मेलनमा एलन मस्क र सुन्दर पिचाई आउने भन्दै यसरी बनाइयो २ हजार उद्यमीलाई मूर्ख

काठमाडौं । स्टार्टअपका लागि विश्वकै सबैभन्दा ठूलो लगानी भित्र्याउने कार्यक्रम 'वर्ल्ड स्टार्टअप कन्भेन्सन' को तयारी थालिएको थियो । स्टार्टअपलाई केन्द्रित गरी आयोजना हुन लागेको कार्यक्रम आफैंमा विशेष आकर्षण थियो ।

त्यसमा पनि वक्ताका रूपमा टेस्लाका सीईओ (प्रमुख कार्यकारी अधिकृत) एलन मस्क, गुगलका सीईओ सुन्दर पिचाई, सफ्ट बैंकका सीईओ मासायोशी सन, अर्बपति गाैतम अडानी लगायत आउने भनिएको थियो ।

स्टार्टअपमा लगानी गर्न विश्वका चर्चित भेन्चर क्यापिटल कम्पनी  सेक्विवा (Sequoia) र टाइगर ग्लोबल आउने भनेपछि कार्यक्रमले थप चर्चा पाएको थियो । तर, कार्यक्रम हुने भनिएको दिन दिल्लीको नोइडामा कोही पनि उपस्थित थिएनन् । एक हिसाबले उक्त कार्यक्रम स्क्याम (घोटाला) मा परीणत हुन पुग्यो ।

उद्यमी तथा लगानीकर्ता ल्युक तालवार र अर्जुन चौधरीले उक्त कार्यक्रमको आयोजना गरेका थिए । मार्च २४ मा हुने भनिएको उक्त कार्यक्रमका आयोजकले स्टार्टअपलाई लगानीकर्ता तथा उद्यमीसँग लगानीका लागि जोड्ने प्रतिवद्धता दिएका थिए ।

यति मात्र नभई कार्यक्रमका लागि तयार पारिएको पोस्टरमा केन्द्रीय मन्त्रीमण्डलका सदस्य नितिन गड्कारी, कन्टेन्ट क्रियटर अङ्कुर वारिक्को तथा लेखक चेतन भगतले आफ्नो मन्तव्य दिने भनिएको थियो ।

भारतीय सञ्चारमाध्यम टाइम्स नाउका अनुसार उक्त कार्यक्रम सबैभन्दा पहिले जनवरी १४ देखि १६ सम्म हुने भनिएको थियो । तर, सहभागीको सङ्ख्या कम भएपछि मार्च २४ देखि २६ सम्म सञ्चालन हुने भनियो ।

यता कार्यक्रम हुने भनिएको दिन सहभागी पुग्दा अचमममा परे । किनभने त्यहाँ प्रचार गरिएका कुनै पनि व्यक्तिको सहभागिता थिएन । कार्यक्रमको गुणस्तर पनि झुर साबित भयो । न त्यहाँ कुनै कार्यक्रम आयोजना भएको थियो, न कुनै तयारी ।

आफू 'स्क्याम' मा परेको थाहा पाएपछि सहभागीहरू तोडफोड गर्न थाले । अनि उक्त सहभागीको हुललाई नियन्त्रण गर्न प्रहरी पुग्यो र भीड नियन्त्रण गर्न थाल्यो । ​त्यसबेला सबै उद्यमीले आफ्नो टिकटको शुल्क र आफ्नो खर्च भएको रकमको क्षतिपूर्ति मागिरहेका थिए ।

विभिन्न स्रोतका अनुसार उक्त कार्यक्रमका लागि दुई हजारभन्दा बढी स्टार्टअपले सहभागिता जनाएका थिए । र, उनीहरूबाट एक सय करोड भारु उठाइएकाे छ ।

"न लगानीकर्ता, न कुनै फर्म्याट, न कुनै प्रमुख अतिथि," कार्यक्रममा सहभागी गेस्चरमाइन्ड ट्वीटर ह्यान्डल भएका व्यक्तिले लेखेका छन्, "नोइडामा भएको वर्ल्ड स्टार्टअप कन्भेन्सनमा पूर्ण रूपमा घोटाला भयो । उनीहरूले सहभागी भएका हामी स्टार्टअपलाई मूर्ख बनाए ।"

कार्यक्रममा सहभागी हुन प्रत्येक टिकटको शुल्क आठ हजार भारु तोकिएको थियो । यति रकम तिरेर पनि सो कार्यक्रममा सहभागी हुन भारतका विभिन्न ठाउँबाट मानिसहरू सहभागी थिए । कार्यक्रम भने अनुरुपको नहुँदा उनीहरूलाई खर्चको भार मात्र बढी पर्‍यो ।

द मिन्टलाई अन्तर्वार्ता दिँदै उक्त कार्यक्रममा सहभागी हुने भनिएका कन्टेन्ट क्रियटर अन्कुर वारिक्कोले सो कार्यक्रममा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । साथै उनको नाम प्रयोग गरी तयार पारिएका पोस्टर पनि हटाउन अनुरोध गरेको उल्लेख गरेका छन् । यसरी स्वघाेषित ठूलो स्टार्टअप कार्यक्रम सबैभन्दा ठूलो स्क्याममा परिणत भयो ।

पछिल्लो अध्यावधिक: चैत २२, २०७९ २२:३०