लुम्बिनी प्राविधिक विश्वविद्यालयमा आउँदो वर्षदेखि आईटी र इन्जिनियरिङको पढाइ हुँदै
चैत २३, २०७९ १५:४४
काठमाडौं । लुम्बिनी प्राविधिक विश्वविद्यालयले आउँदो शैक्षिक सत्र २०८० देखि सूचना प्रविधि र इन्जिनियरिङका विषय अध्यापन गराउने भएको छ । लुम्बिनी प्रदेश सरकारको स्वामित्वमा यसै वर्ष स्थापना भएकाे यस विश्वविद्यालयले शैक्षिक कार्यक्रम सञ्चालनका लागि तयारी थालेकाे विश्वविद्यालयका रजिष्टार रेगबहादुर भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार हाल शैक्षिक कार्यक्रमकाे पाठ्यक्रम निर्माणकाे काम भइरहेकाे छ । “विश्वविद्यालयले डीन नियुक्त गरिसकेकाे छ,” उनले भने, “डीनको नेतृत्वमा पाठ्यक्रम निर्माणको काम सक्छाैं ।”
विश्वविद्यालयले तयार पार्ने विषय अहिलेको आवश्यकता अनुसार बजारमुखी हुने उनले उल्लेख गरे । “विद्यार्थीकाे व्यावसायिक सीप विकास गर्नेगरी उच्च गुणस्तरकाे शैक्षिक कार्यक्रम ल्याउने तयारी भइरहेकाे छ,'' उनले भने ।
विश्वविद्यालयले लुम्बिनी प्रदेश अन्तर्गत रहेका स्थानीय पालिकाका विद्यार्थीलाई प्राथमिकता दिने उनकाे भनाइ छ । “यसको मतलब अरू ठाउँका विद्यार्थीले पढ्न नपाउने होइन । हामी नेपालका सबै ठाउँ र छिमेकी राष्ट्रबाट समेत विद्यार्थीहरू आउन् भन्रे सोचमा छौं,” उनले टेकपानासँग भने ।
योसँगै विश्वविद्यालयमा बौद्धिक सम्पति प्राप्ति, जर्गेना गर्न आवश्यक पर्ने पूर्वाधार सहित ‘रिसर्च एन्ड इनोभेसन सेन्टर’ हुने उनले बताए । सो सेन्टरबाट अनुसन्धान, अन्वेषण र नवप्रवर्तनमा काम गरिने उनको भनाइ छ ।
पछिल्लो अध्यावधिक: चैत २३, २०७९ १५:४५
