close

जीबोर्डलाई पछि पार्ने माइक्रोसफ्टको दाउ, अब ‘स्वीफ्ट की’ मा पनि च्याटबट

टेकपाना टेकपाना

चैत २४, २०७९ ९:५६

जीबोर्डलाई पछि पार्ने माइक्रोसफ्टको दाउ, अब ‘स्वीफ्ट की’ मा पनि च्याटबट

काठमाडौं । माइक्रोसफ्टको किबोर्ड 'स्वीफ्ट की' मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित च्याटबट उपलब्ध भएको छ । एन्ड्रोइड प्रयोगकर्ताका ल्याइएकाे यस किबोर्डमा बुधबारदेखि 'बिङ च्याट एआई' समावेश भएको हो ।

यसअन्तर्गत प्रयोगकर्ताले किबोर्ड प्रयोग हुने कुनै पनि एपमा बिङ च्याट एआई प्रयोग गर्न सक्नेछन् । किबोर्डमा उपलब्ध च्याटबटको सहायताले प्रश्नहरू सोध्न र वाक्य सच्याउन सकिने कम्पनीको भनाइ छ ।

यदि तपाईंले च्याटबट प्रयोग गर्न बिङ एप इन्स्टल गर्नुभएको छ भने यो एपमा भएको एआई फिचर त्यति उपयोगी नहुन सक्छ । तर, किबोर्डबाटै बिङ प्रयोग गर्न चाहनुभएको छ भने यसको प्रयोग गर्न सकिन्छ ।

'स्वीफ्ट की' मा उपलब्ध बिङ एआई प्रयोग गर्न प्ले स्टोरबाट स्वीफ्ट किबोर्डको बेटा भर्सन इन्स्टल गर्नुहोस् । बेटा भर्सनको एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

माइक्रोसफ्टका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) पेड्रम रेजाईले एक ट्वीट गर्दै यो फिचर विस्तारै सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने जानकारी दिएका छन् ।

तर, आईओएस प्रयोगकर्ताका लागि स्वीफ्ट किबोर्ड उपलब्ध छैन । माइक्रोसफ्टले गत वर्ष आईओएसबाट स्वीफ्ट कीको सपोर्ट बन्द गरेको थियो ।

पछिल्लो समय बजारमा एआईमा आधारित च्याटबट च्याटजीपीटीको चर्चासँगै कम्पनीले ओपन एआईको सहकार्यमा बिङ एआई च्याटबट सार्वजनिक गरेको थियो ।

माइक्रोसफ्टले गुगलको सर्च इन्जिनसँग प्रतिस्पर्धा गर्न आफ्नो सर्च इन्जिङ बिङमा एआई बट समावेश गरेको थियो । अहिले गुगलको 'जीबोर्ड'सँग प्रतिस्पर्धा गर्न कम्पनीले आफ्नो स्वीफ्ट की' मा यस्तो फिचर ल्याएको हो ।

 

Did we just add major AI functionality to @SwiftKey? Slowly rolling out. Get yourself onto the Beta channel to taste the future.

— Pedram Rezaei (@pedram_re) April 6, 2023

पछिल्लो अध्यावधिक: चैत २४, २०७९ ९:५६