काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक तथ्याङ्क तथा शिक्षासँग सम्बन्धित जानकारी दिन ‘एजुकेसनल इन्फर्मेसन’ (Educational Information) मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
हरेक व्यक्तिको पहुँचमा शैक्षिक सूचना तथा तथ्याङ्क पुर्याउने उद्देश्यले याे एप विकास गरिएको हो । एपमा शैक्षिक तथ्याङ्क तथा शिक्षासँग सम्बन्धित जानकारीहरूलाई आफूअनुकूल हेर्न सकिने मन्त्रालयका सूचना अधिकृत शंकर अधिकारीले जानकारी दिए ।
“डकुमेन्ट डाउनलोड गरेर नेपालभर कति ओटा विद्यालय छन् भनेर हेर्नुभन्दा एपबाट हेर्न सजिलो हुन्छ । कुनै एक निश्चित ठाउँको तथ्याङ्क मात्र पनि हेर्न सकिन्छ,” उनले भने ।
त्यस्तै एपबाट पुराना शैक्षिक सत्रहरूको सूचना तथा हेर्न पनि सकिनेछ । नयाँ शैक्षिक सत्र सुरु हुनासाथ थप सूचनाहरू राखिने उनले बताए ।
यो एपसँगै मन्त्रालयले अनुगमन सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याउने निर्णय गरेको छ । यसबाट शिक्षासँग सम्बन्धित वार्षिक बजेट तथा कार्यक्रमका प्रगति विवरण अनलाइनबाट सङ्कलन गर्न सकिने मन्त्रालयले जनाएको छ ।
हाल यसलाई परीक्षणको रुपमा प्रयोगमा ल्याई आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनसँगै आउँदो साउन १ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको बताइएको छ ।
यसमा संघ, प्रदेश र स्थानीय तहले आआफ्नो युजरनेम र पासवर्ड राखेर कार्यक्रम अपलोड गर्न र सोकाे प्रगति विवरण भर्न सक्नेछन् । यसले हाल प्रतिवेदन प्रणालीमा देखिएको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।