close

काठमाडौंपछि अब पोखरा र वीरगञ्जमा फाइभजी परीक्षण गर्दै टेलिकम

टेकपाना टेकपाना

चैत २८, २०७९ १७:५२

काठमाडौंपछि अब पोखरा र वीरगञ्जमा फाइभजी परीक्षण गर्दै टेलिकम

काठमाडौं । नेपाल टेलिकमले पोखरा र वीरगञ्जमा पनि मोबाइल सेवाको पछिल्लो पुस्ता फाइभजी सेवाको आन्तरिक परीक्षण गर्ने भएको छ । यसका लागि सिस्टम जडान तथा अन्य प्राविधिक तयारीको काम भइरहेको कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिएका छन् ।

टेलिकमले गत माघ २२ देखि काठमाडौंमा फाइभजीको आन्तरिक परीक्षण थालेको थियो । सबै प्रदेशका मुख्य सहरमा परीक्षण गर्ने योजना अनुसार दोस्रो चरणमा पोखरा र वीरगञ्जमा सिस्टम टेस्टिङको काम हुन लागेको प्रविक्ता अधिकारीले बताए ।

''काठमाडौंपछि हामीले पोखरा र वीरगञ्जमा फाइभजीका लागि आवश्यक सिस्टम टेस्टिङको काम गरिरहेका छौं,'' उनले भने, ''सिस्टम टेस्टिङ सकिएपछि आन्तरिक परीक्षण सुरु हुन्छ । त्यसपछि बाँकी तीन प्रदेशमा परीक्षण गर्छौँ ।''

कम्पनीले ​आफ्नो बबरमहल र सुन्धारास्थित कार्यालयबाट फाइभजी नेटवर्कको आन्तरिक परीक्षणको सुरुवात गरेको थियो । सर्वसाधारणका लागि पनि परीक्षण अवधिभर निःशुल्क सेवा दिने भनेपनि यसबारे कम्पनीले कुनै कदम चालेकाे छैन ।

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षणका लागि २६०० मेगाहर्ज ब्याण्ड अन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ । परीक्षणबाट पत्ता लागेका कुरालाई अघि बढाउँदै व्यावसायिक सेवा सुरु गर्ने कम्पनीको योजना छ ।

पछिल्लो अध्यावधिक: चैत २८, २०७९ १७:५२