काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रका लागि १० वर्ष निकै लामो कालखण्ड हो । २०७० को दशक आज समाप्त हुँदैछ ।
त्यतिखेर दूरसञ्चार क्षेत्रमा अहिलेजस्तो डेटा र इन्टरनेटको प्रभुत्व थिएन । भ्वाइस सेवाको दबदबा रहेको त्यो समय टेलिकम कम्पनीहरूले वर्षमै खर्ब हाराहारी आम्दानी गर्दथे । इन्टरनेट सेवाप्रदायक कम्पनीहरू घिसिपिटी शैलीमा बामे सरिरहेकै अवस्था थियो ।
तर अहिलेसम्म आइपुग्दा भ्वाइस सेवाको स्थान डेटा तथा इन्टरनेटले लिएको छ । जसले गर्दा भ्वाइसमार्फत प्राप्त भइरहेको आम्दानी गुमाएका टेलिकम कम्पनीलाई डेटामार्फत त्यसको भरणपोषण गर्नुपर्ने चनौती छ ।
इन्टरनेट सेवाप्रदायक कम्पनीहरू अहिले मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई नै चुनौती दिने अवस्थामा पुगेका छन् ।
यो एक दशकमा नेपालको दूरसञ्चार क्षेत्र तथा प्रयोगकर्ताले केके पायो अनि के गुमाए ? आज हामी यस विषयमा रुपमा संक्षिप्त चर्चा गर्दै छौं ।
सीडीएमए मोबाइलको बिदाइ
सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले उपलब्ध गराइरहेको सीडीएमए मोबाइल तथा टेलिफोन सेवा खासगरी ग्रामीण क्षेत्रका लागि निकै आकर्षक र उपयोगी मानिन्थ्यो ।
आजभन्दा ठीक १० वर्ष अघि अर्थात वैशाख २०७० मा नेपाल टेलिकमको जीएसएम मोबाइल सेवा प्रयोगकर्ता ७१ लाख २२ हजार ४७८ हुँदा सीडीएमए प्रयोगकर्ता आठ लाख ३० हजार थिए ।
तर अहिलेसम्म आउँदा कम्पनीले उक्त सीडीएमए प्रविधि नै फेजआउट गर्ने क्रममा छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कमा हाल उक्त प्रविधिको मोबाइल सेवा लिने ग्राहक तीन लाख २० हजारभन्दा थोरै देखिन्छ ।
जीएसएमको आधिपत्य
दश वर्ष अघि देशमा जीएसएम मोबाइल सेवा प्रयोगकर्ताको कूल सङ्ख्या एक करोड ६९ लाख १३ हजार ३३८ रहेको थियो । जसमा टेलिकमका ग्राहक ७१ लाख २२ हजार पाँच सय हुँदा एनसेल ९७ लाख ९० हजार ८६० का साथ मार्केट लिडर थियो ।
सीडीएमए सहितकै कुरा गर्दा पनि तत्कालीन अवस्थामा मोबाइल सेवाको पहुँच देशको ७५ प्रतिशतमा मात्रै देखिन्थ्यो । तर त्यस यताको दश वर्षमा बजार निकै परिवर्तन भएको छ ।
हाल मोबाइल सेवाका कूल ग्राहक तीन करोड ५९ लाख ८९ हजार भन्दा बढी छन् । जसमा सङ्ख्यात्मक हिसाबले एनसेल एक करोड ३४ लाख नौ हजारमा हुँदा टेलिकम दुई करोडभन्दा माथि छ । पहुँच तथा पेनिट्रेसनकै कुरा गर्ने हो भने यो हाल देशको जनसङ्ख्या भन्दा २६ प्रतिशत बढी हो ।
छ बाट दुईमा सीमित भए दूरसञ्चार कम्पनी
२०८० मा अहिलेका नेपाल टेलिकम र एनसेलसँगै यूटीएल, स्मार्ट टेलिकम, स्याटलाइट टेलिकम र एसटीएम पनि अस्तित्वमा थिए । अहिले आउँदा बजारमा एनसेल र नेपाल टेलिकमको मात्रै सेवा चालू अवस्थामा छ ।
तेस्रो ठूलो दूरसञ्चार कम्पनी स्मार्ट टेलिकमको सेवा समेत बन्द भइसकेको छ । यसबीच व्यवसायी अजेयराज सुमार्गीको कम्पनी स्याटलाइट टेलिकमको लाइसेन्स खारेज भयो ।
यूटीएलको लाइसेन्स खारेज गर्ने निर्णय भए पनि अदालतले संरक्षण दिएको छ । एसटीएमको लाइसेन्स किनेको सीजी कम्युनिकेसन नयाँ लाइसेन्सको दौडधुपमा छ ।
ल्यान्डलाइनको घट्दो प्रयोग
नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको पीएसटीएन ल्यान्डलाइन फोन दश वर्ष अघि निकै प्रचलित थियो । तर अहिले मोबाइल सेवाको पहुँच व्यापक बनेसँगै त्यसको चार्म भने घट्दै गएको छ ।
२०७० को सुरुमा करिब छ लाख ३८ हजार लाइन पीएसटीएन रहेकोमा अहिले घटेर साढे चार लाख हाराहारीमा सीमित भएको छ ।
फिक्सलाइन इन्टरनेटमा उथलपुथल
२०७० सम्म अस्तित्वमा रहेको डायलअप इन्टरनेट अहिलेसम्म आइपुग्दा पूर्णतः विस्थापित बनिसकेको छ । ७० कै दशकमा लोकप्रियता प्राप्त गरेको एडीएसएल इन्टरनेट सेवा अहिले विस्थापित हुन लागिसक्यो । त्यस्तै केबल मोडेम समेत हराउन थालिसके ।
अहिले एफटीटीएच इन्टरनेटले व्यापकता पाएको छ । २०७० मा ५० हजार हाराहारी रहेका एफटीटीएच ग्राहक अहिलेसम्म आइपुग्दा बढेर २५ लाख ३१ हजारभन्दा माथि पुगिसकेका छन् । जसबाट एक करोड छ लाख भन्दा बढी जनसङ्ख्याले सेवा प्राप्त गरिरहेको आँकलन गरिएको छ ।
अर्कोतर्फ दशकको सुरुतिर अस्तित्वमा रहेको वाईम्याक्स इन्टरनेट अहिले गायब भइसकेको छ । दश वर्ष अघि फिक्स लाइन इन्टरनेटमा ब्रोडलिङ्क सबैभन्दा ठूलो आईएसपी थियो । तर अहिले वर्ल्डलिङ्कले सबैलाई पछि पारेको छ ।
नेपालको इन्टरनेट पायोनियर मर्कन्टाइल राम्रै अवस्थाको बजारबाट क्रमशः गुमनाम बन्दैछ । दश वर्ष अघि ४१ ओटा इन्टरनेट सेवाप्रदायक रहेकोमा अहिलेसम्म आइपुग्दा १२८ पुगिसकेका छन् । त्यस्तै डिशहोम, सीजीनेट जस्ता नयाँ खेलाडीले बजारमा हस्तक्षेप गरिरहेको अवस्था छ ।
मोबाडल डेटाः थ्रीजीको बुम, फोरजी हुँदै फाइभजी परीक्षणसम्म
अघिल्लो दशकको अन्तिमतिर नेपालमा सुरु भएको थ्रीजीले यही दशकमा लोकप्रियता प्राप्त गर्यो । झण्डै छ वर्ष अघि सुरु भएको फोरजी सेवा अहिले देशव्यापी पहुँच विस्तारमा छ । त्यस्तै नाम मात्रकै भए पनि फाइभजीको परीक्षण समेत सुरु भइसकेको मान्न सकिन्छ ।
अहिले नेपाल टेलिकम र एनसेल दुवैले उपलब्ध गराइरहेको थ्रीजी सेवामा ७९ लाख १७ हजार तथा फोरजीमा एक करोड ९१ लाख ४९ हजार भन्दा बढी प्रयोगकर्ता रहेका छन् ।
जीपीआरएस, ईडीजीई तथा डब्लूसीडीएमए, सीडीएमए वनएक्स तथा ईभीडीओमा निर्भर मोबाइल डेटाले अहिले थ्रीजी तथा फोरजी जस्ता वायरलेस ब्रोडब्यान्डको रुप लिइसकेको छ ।