close

काठमाडौं महानगरमा पूर्ण रुपमा सुरु भयो डिजिटल नक्सापास प्रणाली, अब कार्यालय धाउनु नपर्ने

टेकपाना टेकपाना

बैशाख १, २०८० १६:४६

काठमाडौं महानगरमा पूर्ण रुपमा सुरु भयो डिजिटल नक्सापास प्रणाली, अब कार्यालय धाउनु नपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्ण रुपमा अनलाइन नक्सापास प्रणाली कार्यान्वयनमा ल्याएकाे छ । सामाजिक सञ्जालमा एक भिडिओ राख्दै महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले शुक्रबारदेखि अनलाइन नक्सापास प्रणाली सुरुवात भएको जानकारी दिए ।

परिमार्जित रुपमा ल्याइएको नयाँ अनलाइन नक्सापास प्रणालीका माध्यमबाट विगतमा दुईदेखि तीन महिना लाग्ने प्रक्रियालाई छोट्याएर बढीमा २५ दिनमै सेवा दिन सकिने शाहले बताए ।

"पहिले नक्सापासमा विद्युतीय प्रणाली भएपनि ट्रयाकिङ मात्र हुन्थ्यो," उनले भने, "तर, अड्डा-अड्डामा, डेस्क-डेस्कमा गई राख्नुपर्ने समस्या थियो । प्रक्रिया एकदमै लामो थियो । हाम्रो सर्भर पनि स्लो थियो ।" पछिल्लो समय सर्भर परिवर्तन गरेर अनलाइन नक्सापास प्रणालीलाई छिटो र स्वचालित बनाइएको उनले उल्लेख गरे ।

"तपाईंको नक्सा अब प्रिन्ट गरिराख्नु पर्दैन । नक्सा किताब धाइराख्नु पर्दैन । तपाईंले इन्जिनियरलाई नक्सा बनाउन दिनुभयो भने डिजिटल फर्ममा नै काठमाडौं महानगरपालिकाको सिस्टममा प्रवेश गर्छ । र, त्यही सिस्टमबाट आर्किटेक्ट, स्ट्रक्चरल इन्जिनियरकहाँ गएर, कर तिरेर २५ दिनभित्र डिजिटल रुपमा नक्सा तयार भइसक्छ," शाहले अगाडि भने ।

उनका अनुसार यो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घर नक्सा दर्ता अनलाइनबाटै पेस गर्न सकिनेछ ।

त्यस्तै, सँधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगई अनलाइनबाट नै सेवा लिन सकिनेछ ।

यो प्रणालीसँगै विचौलिया प्रवृत्ति, वारेसनामा पद्धति, आर्थिक अनियमितता लगायतको अन्त्य भई पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुने महानगर प्रमुख शाहकाे विश्वास छ ।

यस्तो डिजिटल नक्सा बैंकमा बुझाउन वा ‘भ्यालुएटर’लाई देखाउन सकिन्छ । साथै उक्त अनलाइन प्रणालीका माध्यमबाट पाँच हजार स्क्वायर फिटसम्मको घरको नक्साको वडाकै सिस्टमबाट पनि दर्ता गर्न सकिन्छ । त्यसका लागि महानगरसम्मका आउनुपर्ने बाध्यता टरेको शाहले सुनाए ।

पछिल्लो अध्यावधिक: बैशाख १, २०८० १७:१