काठमाडौं । इन्स्टाग्राम रिल्समा केही नयाँ फिचरहरू सार्वजनिक भएका छन् । हुन त मेटाले इन्स्टाग्राम रिल्समा टिकटकको फिचरहरू उपलब्ध गराएको भन्ने आरोप खेप्दै आएको छ ।
यो पटक पनि त्यस्तै भएको छ । कम्पनीले रिल्समा नयाँ फिचर सार्वजनिक गरेको छ जुन टिकटकमा पहिले नै उपलब्ध भइसकेको छ । अब इन्स्टाग्राम रिल्समा पनि नयाँ ट्रेन्ड के आएको छ भनेर हेर्न सकिने भएको छ ।
तपाईँको प्लोफेसनल ड्यासबोर्डमा 'चेक टुडेज रिल्स ट्रेन्ड' अर्थात आज रिल्समा के ट्रेन्डमा छ भनेर हेर्न सकिन्छ । प्रयोगकर्ताहरू आफ्नो भिडिओको लागि केही नयाँ सोचिरहेका हुन्छन् । यसैले उनीहरूको लागि ट्रेन्डको लागि लक्षित गरी छुट्टै फिचर थप गरिएको कम्पनीले जनाएको छ ।
साथै इन्स्टाग्राम रिल्समा ह्यासट्यागमा के चलिरहेको छ भन्ने पनि हेर्न सकिन्छ । यसको साथै रिल्समा कम्पनीले भिडिओ एडिट गर्न थप सहज बनाउन केही नयाँ टुल्स पनि थप गरेको छ । अब इन्स्टाग्रामको रिल्स काटेर आफैले मिलाउन सकिन्छ भने यसमा नयाँ अडियो थप गर्न, स्टिकर तथा टेक्स्टहरू थप्न पनि मिल्ने भएको छ ।
यी फिचरहरू आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध भएको छ ।
कम्पनीले रिल्स इन्साइटमा पनि सुधार गरेको छ । अब प्रयोगकर्ताले आफ्नो अकाउन्टको बारेमा थप जानकारी पाउन सक्नेछन् । यस अन्तर्गत आफ्नो अकाउन्ट कति प्रयोगकर्तासम्म पुग्यो, आफ्ना फलोअरहरू, आफूलाई फलो नगरे पनि भिडिओ हेर्नेको संख्या लगायतका जानकारीहरू पाउन सकिन्छ ।
यस्तै कम्पनीले आफ्नो गिफ्ट फिचर अन्य देशहरुमा पनि विस्तार गरेको छ । इन्स्टाग्रामको गिफ्ट फिचर अब अस्ट्रेलिया, क्यानेडा, फ्रान्स, मेक्सिको, न्युजिल्यान्ड र बेलायतमा पनि उपलब्ध हुनेछ । साथै कुन प्रयोगकर्ताले आफूलाई गिफ्ट पठायो भनेर पनि हेर्न सकिनेछ ।