काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको समृद्धिको आधार सूचना प्रविधि बन्नसक्ने उल्लेख गर्दै संसारभर रहेका गैरआवासीय नेपालीहरूलाई यस क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
अमेरिकास्थित नेपाली दूतावास र विश्व बैंकले आयोजना गरेको “कनेक्टिङ नेपाल विथ ग्लोबल डिजिटल इकोनोमी” विषयक कार्यक्रमलाई आइतबार राति भर्चुअल सम्बोधन गर्दै उनले सो आग्रह गरेकी हुन् ।
मन्त्री शर्माले नेपालको विकास प्रक्रियामा सूचना प्रविधिको क्षेत्रमा विशेषज्ञता हासिल गरेका विज्ञ तथा व्यवसायीहरूको सहयोगबाट देशको अर्थन्त्रलाई नयाँ उचाइमा पुर्याउन, रोजगारी सिर्जना गर्न यस क्षेत्रमा बजारको मागअनुसार अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय जनशक्ति विकास र आपूर्ति आवश्यक उल्लेख गर्दै नेपालमा यसको लागि अनुकूल वातावरण तयार गर्न सरकार क्रियाशील रहेकाले लगानी तथा सहयोगका लागि आग्रह गरिन् ।
खास गरी विदेशमा आर्जन गरेको ज्ञान, सीप, सक्षमता र पूँजीको परिचालन गरी अन्य देशहरुले विकासमा फड्को मारिसकेको स्मरण गर्दै उनले नेपालमा भने विद्यमान स्रोत साधनलाई यथोचित परिचालन गर्न नसक्दा पछाडि परिरहेको बताइन् ।
विश्व अर्थतन्त्रमा नेपालको विद्यमान अवस्थालाई पुनः परिभाषित गर्न नवप्रवर्ततन, अनुसन्धान र विकासमा लगानी गर्न उनले सूचना प्रविधि विज्ञहरू र व्यवसायीहरूलाई आग्रह गरिन् ।