काठमाडौं । अहिले कुनै विषयबारे थाहा पाउनुपर्याे भने इन्टरनेटमा सर्च गरे पुग्छ । पछिल्लो समयमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एकीकृत गरिएका वेबसाइटहरू थपिने क्रम जारी छ ।
यसैबीच अनलाइन कोर्ष बनाउन सहयोग गर्ने वेबसाइट स्कर्म हिरो (Scorm Hero) का निर्माताले पढाउने व्यक्ति वा व्यवस्थित भएर पढ्न चाहनेका लागि उपयोगी एआई प्लेटफर्म सुरु गरेको छ ।
‘कोर्ष एआई’ नामक उक्त प्लेटफर्मबाट कुनै पनि विषयमा कोर्ष बनाउन सकिन्छ ।
निकै सामान्य डिजाइन रहेको उक्त प्लेटफर्मले दिइएको कुनै विषयलाई एआई प्रयोग गरी अक्षरमा आधारित कोर्ष तयार पारिदिन्छ । जुन कोर्षलाई तपाईंले विभिन्न सामाजिक सञ्जालमा शेयर वा डाउनलोड गर्न समेत सक्नुहुन्छ । तर अहिले यस प्लेटफर्मको बेटा भर्सन मात्र सार्वजनिक गरिएको छ ।
कसरी बनाउने कोर्ष?
सुरुमा यहाँ क्लिक गरी उक्त वेबसाइटमा जानुहोस् । त्यहाँ ‘इन्टर द सब्जेक्ट’ बक्समा कुनै पनि विषय टाइप गर्नुहोस् । त्यहाँ तपाईंले कुनै विषय टाइप गर्न सक्नुहुन्छ । जस्तो: जिसस भर्सेस एलन मस्क । सो विषय टाइप गर्नुभएपछि ‘क्रियट कोर्ष’ मा क्लिक गर्नुहोस् ।
अब दुई मिनेटभित्र तपाईंको कोर्ष तयार हुन्छ । यस प्लेटफर्मबाट कोर्ष बनाउँदा परिचय, विषयको चर्चा, समीक्षा, अभ्यास, सारांक्ष, हाजिरीजवाफ सहित तयार हुन्छ ।
कम्पनीको अर्को प्लेटफर्म ‘स्क्रोम हिरो’बाट कोर्ष बनाउन प्रयोगकर्ताले आवश्यक सामग्री अपलोड गर्नुपर्छ भने यसमा विषय उल्लेख गरे पुग्छ ।
त्यस्तै यदि आफूले तयार पारेका सबै कोर्षको व्यवस्थापन गर्न भने अकाउन्ट खोल्नुपर्ने हुन्छ । जसका लागि दायाँ माथि रहेको ‘साइन अप’मा क्लिक गर्नुहोस् । त्यहाँ सिधै गुगल अकाउन्टबाट पनि अकाउन्ट खोल्न सक्नुहुन्छ । अब तपाईंले जति कोर्ष तयार पार्नुहुन्छ, ती सबै ‘माई कोर्ष’ भित्र रहेका हुन्छन् ।