close

४ जीबी र्‍याम र ४८ मेगापिक्सेल क्यामेरा भएको सस्तो बेन्को फोन

टेकपाना टेकपाना

बैशाख ६, २०८० १०:३५

काठमाडौं । नेपाली बजारमा विभिन्न ब्रान्डका बजेट फोन उपलब्ध छन् । तीमध्ये एक हाे, बेन्को । ​बेन्काेले बजारमा हालै ‘बेन्को एस वान’ (Benco S1) स्मार्टफाेन ल्याएकाे छ, जसकाे मूल्य १५ हजार रुपैयाँ रहेकाे छ ।

यो फोनमा ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज क्षमता छ । यसमा १६४० पिक्सेल रेजाेलुसन भएको ६.८ इन्चको आईपीएस एलसीडी डिस्प्ले छ । डिस्प्लेमा बेजल्स कम गर्न क्यामेरालाई पञ्च होलमा राखिएको छ, जसले गर्दा गेम खेल्दा, सामाजिक सञ्जाल र समाचारहरु पढ्दा वा भिडियो हेर्दा राम्राे अनुभव लिन सकिन्छ ।

फोनको माथिपट्टि ३.५ एमएमको अडियो ज्याक पोर्ट रहेको छ । त्यस्तै दायाँपट्टि साउन्ड कन्ट्रोल गर्ने बटनसँगै फिङ्गर सेन्सर सहितको पावर अन/अफ बटन रहेको छ । फोनको तलतिर माइक, टाइप-सी चार्जिङ पोर्ट र स्पिकर छ । 

यो फोन एन्ड्रोइडको पछिल्लो भर्सन एन्ड्रोइड १३ मा आधारित छ । त्यसैले एन्ड्रोइड १३ मा उपलब्ध फिचर र सुरक्षा यो फोनमा पाउन सकिन्छ ।

फोनमा युनिसक टाइगर टी ६०६ ओक्टा कोर (UNISOC Tiger T606 Octa Core) प्रोसेसर छ । त्यस्तै फोनमा थप ३ जीबी भर्चुअल र्‍याम बढाउन मिल्ने सुविधा दिइएको छ ।

फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । यसमा अल्ट्रा वाइड क्यामेरा भने छैन । तर एउटा ‘एआई क्यामेरा’ भनेर उपलब्ध गराइएको छ । साथमा २ मेगापिक्सेलको म्याक्रो लेन्स दिइएको छ ।

त्यस्तै १६ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । 

यसमा ५,००० एमएएच क्षमताको ब्याट्री दिइएको छ । यसले १८ वाटको चार्जिङ सपोर्ट गर्छ, जसबाट मोबाइल फुल चार्ज हुन २ घण्टाजति समय लाग्ने बताइएको छ ।

कम्पनीले बक्सभित्र फाेनसँगै चार्जर, इयरफोन, प्लास्टिक कभर र स्क्रिन प्रोटेक्टर उपलब्ध गराउँछ ।

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८० १०:५५