close

पूर्ण स्वचालित कारको भविष्य छैनः बीवाईडी प्रवक्ता

टेकपाना टेकपाना

बैशाख ६, २०८० १५:४१

पूर्ण स्वचालित कारको भविष्य छैनः बीवाईडी प्रवक्ता

काठमाडौं । चिनियाँ विद्युतीय कार निर्माता बीवाईडीका प्रवक्ताले विश्वमा पूर्ण स्वचालित कारको भविष्य नरहेकाे अभिव्यक्ति दिएका छन् । कम्पनीका प्रवक्ता ली युनफेईले स्वचालित प्रविधिलाई कारकाे सट्टामा उत्पादन (म्यानुफक्चरिङ) क्षेत्रमा लगाउनु उपयोगी हुने धारणा राखेका हुन् ।

चीनमा जारी साङ्घाइ अटो शोको एक कार्यक्रममा उनले पूर्ण स्वचालित कार वास्तवमा व्यवहारिक नभएको तर्क गरे । यो प्रविधिमा धेरै उद्योग र कम्पनीहरूले धेरै लगानी गरेपनि अन्तमा त्यसले कुनै प्रतिफल नदिने उनकाे भनाइ थियाे ।

अहिले धेरै विद्युतीय कार र प्रविधि कम्पनीहरूले सेल्फ ड्राइभिङ प्रविधिमा काम गरिरहेका छन् । पार्किङ र अन्य कार्यहरूमा ड्राइभरहरूलाई सहयोग गर्न यो प्रविधिको प्रयोग बढिरहेको छ । टेस्लाका साथै केही चिनियाँ कार ब्रान्डले पनि ग्राहकलाई आकर्षित गर्न यो प्रविधिको प्रयोग गरिरहेका छन् ।

तर चीनकै सबैभन्दा ठूलो विद्यूतीय कार निर्माता कम्पनी बीवाईडीका अधिकारीले नै पूर्ण स्वचालित कारको कुनै औचित्य नभएको अभिव्यक्ति दिएका छन् ।

केही स्टार्टअप र पहिले नै स्थापित भइसकेका प्रविधि कम्पनीहरूले चीनमा पूर्ण रूपमा सेल्फ-ड्राइभिङ प्रविधिको विकास गर्न वर्षौंदेखि काम गरेका छन् ।

केही व्यवसायले बेइजिङ, साङ्घाई र अन्य सहरहरूमा स्वचालित ट्याक्सीहरू सञ्चालन गर्न स्थानीय अधिकारीहरूबाट स्वीकृति पनि प्राप्त गरेका छन् ।

बीवाईडीका प्रवक्ताले प्रत्येक वर्ष ट्राफिक दुर्घटनामा लगभग २० लाख व्यक्तिको मृत्यु हुने तथ्याङ्क दिँदै पूर्ण रूपमा स्वचालित यात्राको अवधारणा व्यवहारिक नहुने बताएका हुन् ।

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८० १५:५५