close

पासवर्ड शेयर गरेर नेटफ्लिक्स हेर्ने सुविधा बन्द

टेकपाना टेकपाना

बैशाख ७, २०८० १५:१२

पासवर्ड शेयर गरेर नेटफ्लिक्स हेर्ने सुविधा बन्द

काठमाडौं । अन्ततः नेटफ्लिक्सले पासवर्ड शेयरिङलाई बन्द गर्न सुरु गरेको छ । कम्पनीले अमेरिकाबाट यसको सुरुवात गरेको हो । नेटफ्लिक्सले यस वर्षको सुरुतिर क्यानडा, न्युजिल्यान्ड र पोर्चुगल गरी चार मुलुकमा सःशुल्क पासवर्ड शेयरिङ फिचर सार्वजनिक गरेको थियो ।

त्रैमासिक रिपोर्टमा कम्पनीले त्यसबाट प्राप्त नतिजा उत्साहजनक रहेको भन्दै अर्को त्रैमासमा अमेरिका सहितका मुलुकमा विस्तार गर्ने योजना रहेको बताएको थियो ।

"१० करोडभन्दा बढी घरपरिवारले अकाउन्ट शेयरिङ गरेर हेरिरहेको कुराले हाम्रो लगानीलाई अवमूल्यन गरिरहेको सन्दर्भमा सःशुल्क पासवर्ड शेयरिङ एउटा अर्को महत्त्वपूर्ण अग्रसरता हो," नेटफ्लिक्सको रिपोर्टमा भनिएको छ, "यसले पैसा तिरेर हेर्ने हाम्रा सदस्यहरूको सुविधामा सुधार ल्याउनुका साथै हाम्रो व्यवसायलाई पनि बनाइराख्नेछ ।"

पासवर्ड शेयर गरेर हेर्न सकिने सुविधालाई बन्द गराएको समाचार बाहिरिएसँगै प्रयोगकर्ताले प्रतिक्रिया स्वरुप स्ट्रिमिङ सेवा नै रद्द गर्ने अपेक्षा गरिएको थियो, तर प्रयोगकर्ताहरूले भने आफ्नो अकाउन्ट पुनः सक्रिय तुल्याउने प्रवृत्ति देखिएको नेटफ्लिक्सले बताएको छ ।

"उदाहरणका लागि अमेरिकी बजारका लागि विश्वसनीय पूर्वानुमान गर्ने आधारको रुपमा हेरिएको क्यानडामा हाम्रो सदस्यताको आधार पहिले भन्दा सशुल्क पासवर्ड शेयरिङ फिचर सार्वजनिक भएपछि झनै बढेको छ, आम्दानी पनि वृद्धि भएको छ र अमेरिकामा भन्दा पनि छिटो विस्तार भइरहेको छ," रिपोर्टमा अगाडि भनिएको छ ।

त्यसो त नेटफ्लिक्सले वर्षको सुरुवातमै अमेरिकामा पासवर्ड शेयरिङ अन्त्य गर्ने योजना बनाएको थियो । तर सदस्यहरूका लागि अनुभव सुधार गर्ने सुविधाहरू पत्ता लागेको भन्दै कम्पनीले तत्कालका लागि उक्त योजना स्थगित गरेको थियो ।

यदि क्यानडामा देखिएको जस्तै परिवर्तन अमेरिकामा समेत मेल खाएमा प्रयोगकर्ताले आफ्नो नेटफ्लिक्स स्ट्यान्डर्ड तथा प्रिमियम प्लानमा अतिरिक्त दुई जनालाई जोड्न सक्नेछन्, तर त्यसका लागि अतिरीक्त शुल्क (सम्भवतः प्रतिव्यक्ति ६ अमेरिकी डलर) तिर्नुपर्नेछ । 

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८० १५:१२