close

नेपाल टेलिकमले स्मार्ट मिटरका लागि विद्युत प्राधिकरणलाई दियो डेढ लाख ई-सिम

टेकपाना टेकपाना

बैशाख ७, २०८० १६:४२

नेपाल टेलिकमले स्मार्ट मिटरका लागि विद्युत प्राधिकरणलाई दियो डेढ लाख ई-सिम

काठमाडौं । नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि एक लाख ५० हजार थान ई-सिम उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा दुई संस्थाबीच बिहीबार एक सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र नेपाल विद्युत प्राधिकरणको तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युतबाबु घिमिरेले हस्ताक्षर गरे ।

सो अवसरमा टेलिकमकी पहाडीले नेपाल विद्युत प्राधिकरणसँगको व्यावसायिक सहकार्यका लागि धन्यवाद ज्ञापन गर्दै सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे ।

विद्युत प्राधिकरणका घिमिरेले पहिलेदेखि नै स्मार्ट मिटरमा नेपाल टेलिकमको सिम प्रयोग भइरहेकोमा आगामी दिनमा नयाँ प्रविधियुक्त ई-सिममार्फत सेवा उपलब्ध हुने भएकोमा खुशी व्यक्त गरे ।

प्राधिकरणले विद्युत महसुल सम्बन्धी जानकारीका लागि स्मार्ट मिटर प्रयोग गरिरहेको छ । यसको सहयोगले कार्यालयबाटै विद्युत खपत बारेमा जानकारी लिन सकिनुका साथै लाइन काट्न र विद्युत चुहावट नियन्त्रण लगायतका कार्य गर्न सहयोग पुग्दछ ।

ई-सिमले प्राधिकरणको सिस्टम र स्मार्ट मिटरको बीचमा सञ्चार सुविधा उपलब्ध गराउन सहयोग गर्छ । १०० एम्पियरसम्म क्षमता भएका थ्री फेज ग्राहकहरुका लागि ई–सिम प्रयोग गरिने छ । नेपाल टेलिकमले विद्युत प्राधिकरणलाई यसअघि पनि स्मार्ट मिटर प्रयोजनका लागि ५३ हजार थान सिम उपलब्ध गराइसकेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८० १६:४२