close

एलन मस्कलाई एकै दिन १२ अर्ब घाटा

टेकपाना टेकपाना

बैशाख ८, २०८० १७:२४

एलन मस्कलाई एकै दिन १२ अर्ब घाटा

काठमाडौं । ट्वीटरले प्रयोगकर्ताको अकाउन्टमा भएको भेरिफाइड ब्याज हटाउन थालेको छ । निःशुल्क भेरिफिकेसन मार्क उपलब्ध गराएका कम्पनीले शुल्क तिर्न अस्वीकार गरेपछि कम्पनीले ब्लु टिक हटाउन थालेको हो ।

एलन मस्कको कम्पनीले यसरी ब्लु टिक हटाइरहँदा गज्जबको संयोग जोडिएको छ । ​मस्कको अर्को कम्पनी स्पेसएक्सको रकेट बिहीबार विस्फोट भएको थियो ।

परीक्षणमा रहेको स्पेसएक्सको स्टारशिप रकेट विस्फोट हुँदा उनको उक्त कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।

यहीबीच मस्कको अर्को मुख्य कम्पनी टेस्लाको शेयर पनि एकै दिन ९.६५ प्रतिशतले घटेको छ । उनले विद्युतीय गाडीको माग बढाउन गाडीको मूल्य घटाउने संकेत दिएपछि टेस्लाको शेयर मूल्यमा ठूलो गिरावट आएको हो ।

मस्कको सम्पत्ति प्रत्यक्ष रूपमा टेस्ला र स्पेसएक्सको शेयर मूल्यमा जोडिएको हुन्छ । यसरी दुवै कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा उनको सम्पत्ति घटेको हो ।

एकै दिन ट्वीटर, स्पेसएक्स र टेस्लाको शेयरमा गिरावट आउँदा मस्कको कूल सम्पत्तिबाट पछिल्लो २४ घण्टामा ११.४ अर्ब डलर घट्न पुगेको छ ।

अहिले उनको कूल सम्पत्ति १७३.६ अर्बमा सीमित रहेको फोर्ब्स म्यागजिनले उल्लेख गरेको छ ।

यसो त मस्कसँग ट्वीटरको कूल ७४ प्रतिशत शेयर भएको अपेक्षा गरिएको छ । यतिबेला ट्वीटरको शेयर मूल्यमा गिरावट भने आएको छैन । तर, रकेट विस्फोट हुँदा स्पेसएक्सको शेयर मूल्य घटेको छ भने बजार प्रभावले टेस्लाको शेयर मूल्यमा ठूलो गिरावट आएको छ ।

यसरी एकैपटक मस्कमाथि दुई ओटा बज्रपात पर्दा उनको सम्पत्ति एकै दिन ११.४ अर्बले गुमेको विभिन्न रिपाेर्ट उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८० १७:३८