काठमाडौं । एप्पलले आईफोन प्रयोगकर्ताको मानसिक स्वास्थ्यलाई सुधार गर्ने उद्देश्यले जर्नलिङ एप ल्याउने भएको छ । 'जुरासी' काेडनेम दिइएको उक्त एप आईओएस १७ अपडेट सार्वजनिक भएसँगै उपलब्ध हुने बताइएको छ ।
जर्नलिङ एपको खास अर्थ प्रयोगकर्ताले आफ्ना दैनिक गतिविधि, विचार, भावना लगायत विभिन्न महत्त्वपूर्ण कार्यक्रमको नोट राख्ने भन्ने हुन्छ । यसका आधारमा प्रयोगकर्ताले आफ्नै दैनिक तालिका व्यवस्थापन गर्न सक्छन् । एप्पलले यही शब्दले प्रस्ट्याएको जस्तै एप ल्याउन लागेको समाचार बाहिरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम 'द वाल स्ट्रिट जर्नल'मा प्रकाशित समाचारका अनुसार प्रयोगकर्ताले दैनिक आफ्ना विचार र भौतिक गतिविधि राखेर मानसिक स्वास्थ्यको ख्याल राख्न सक्नेछन् । वाल स्ट्रिटका अनुसार उक्त एप आईओएस १७ को फिचरका रूपमा आगामी जुलाईमा हुने एप्पलको वर्ल्डवाइड डेभलपर कन्फ्रेन्समा सार्वजनिक हुनेछ ।
बाहिरिएका विभिन्न जानकारी अनुसार यस एपले प्रयोगकर्ताको आईफोनमा भएका डेटा प्रयोग गर्नेछ । उक्त डेटाका आधारमा प्रयोगकर्ताले कस्ता गतिविधि गरिरहेका छन् भन्ने कुराको जर्नल (नोट) हुन्छ । त्यति मात्र नभई यो एपले तपाईंको दैनिक गतिविधिमा भएका परिवर्तनबारे पनि जानकारी दिन्छ । र, गलत भइरहेको छ भने सही गर्न सुझाव दिन्छ ।
त्यसबाहेक पनि यस एपमा 'अल डे पिपल डिस्कभरी' फिचर रहनेछ । जसले आईफोन प्रयोगकर्तासँग सधैं हिँडिरहने साथी को हुन् र उनीहरू कस्ता छन् भन्ने पहिचान गर्न सक्छ ।
यस एपले तपाईं कोसँग हिँड्नुहुन्छ, के गर्नुहुन्छ, कोसँग अन्तर्क्रिया गर्नुहुन्छ जस्ता यावत विषय ट्रयाक गर्ने बताइएको छ । जसका लागि सम्भवतः यो एपले प्रोक्सिमिटी सेन्सरका साथै अन्य डेटाको प्रयोग गर्नेछ ।
विभिन्न सञ्चारमाध्यमका अनुसारले एप्पलले यो एप 'डे वन' नामक जर्नलिङ एपसँग प्रतिस्पर्धाका लागि ल्याउन लागेको बताइएको छ । जसका हालसम्म दुई लाख बढी प्रिमियम सब्स्क्राइबरहरू रहेका छन् ।