close

जब एआईले तयार गरेको गीत सामाजिक सञ्जालमा भाइरल भयो...

टेकपाना टेकपाना

बैशाख ९, २०८० २२:९

जब एआईले तयार गरेको गीत सामाजिक सञ्जालमा भाइरल भयो...

काठमाडौं । यो हप्ता सामाजिक सञ्जालमा दुई अंग्रेजी भाषाका गीत निकै चर्चामा आए । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमार्फत 'ड्रेक' र 'द विकेन्ड' को आवाज हुबहु निकालेर तयार गरिएको गीतले सामाजिक सञ्जालमा निकै स्थान पायो । 

यद्यपि यो आवाज कलाकारले गाएको होइन भन्ने कुरालाई धेरै पत्याउनै सकेनन् । 'कल्ड हर्ट अन स्लिभ' नामको उक्त गीत एकदमै चल्याे । यो गीत गायिका सेलेना गोमेज र अर्का पप स्टारको प्रेम सम्बन्धलाई लिएर बनाइएको छ । 

'गाेस्टराइटर' (@ghostwriter) नामक क्रियटरले यो गीत सफ्टवेयरबाट बनाएको दाबी गरेका छन् । गायकको आवाजमा प्रशिक्षण गरिएको सफ्टवेयरले यो गीत तयार गरेको उनले बताएका छन् । 

उक्त भिडिओ सार्वजनिक हुँदा भिडिओको डिस्क्रिप्सनमा 'दिस इज जस्ट द बिगिनिङ' अर्थात् 'यो सुरुवात मात्र हो' भनेर लेखेको बीबीसीले उल्लेख गरेकाे छ । यसको अर्थ उक्त व्यक्तिले यस्तै अन्य भिडिओहरू पनि बनाउन सक्नेछन् । 

गत शुक्रबार मात्र टिकटकमा सार्वजनिक भएको उक्त भिडिओमा एक करोडभन्दा बढी भ्युज आइसकेको छ । यद्यपि टिकटकले हाल उक्त भिडिओको आवाज भने डिलिट गरेको छ । 

तर सो गीत युट्युब लगायत अन्य सामाजिक सञ्जालका प्लेटफर्ममा सुन्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८० २२:२८