close

विद्यालय तहमा कस्ता विद्यार्थीले किन पढ्ने कम्प्युटर विषय ?

टेकपाना टेकपाना

बैशाख १०, २०८० १६:३०

विद्यालय तहमा कस्ता विद्यार्थीले किन पढ्ने कम्प्युटर विषय ?

काठमाडौं । नेपालमा आधारभूत तहदेखि नै कम्प्युटर विषयको पढाई हुन्छ । अहिलेको समयमा प्रविधि चेत भएका विद्यार्थी उत्पादन गर्न तल्लो तहबाट नै कम्प्युटर विषय समावेश गरिएको हो । 

विद्यालय तहमा कम्प्युटर विषय समावेश गर्नुको उद्देश्य विद्यार्थीमा जीवनोपयोगी सीप विकास गराउनु रहेको छ । यो विषयमा सैद्धान्तिक र प्रयोगात्मक दुवै किसिमका कक्षा हुने गर्छन् ।

अध्यापन गराउने विद्यालयमा राम्रो कम्प्युटर ल्याब हुनु आवश्यक छ । तर कतिपय विद्यालयमा भने स्तरीय ल्याब र दक्ष शिक्षककै अभाव छ । 

त्यसो त बेलाबेलामा कम्प्युटर नै नदेखी यो विषयको अध्ययन गराइएका समाचार पनि आउने गरेका छन् ।  अहिले कक्षा ६ देखि ८ सम्म अध्यापन गराइँदै आएको कम्प्युटर विषय हटाइएको छ ।

यससँगै विज्ञान विषयमा नै कम्प्युटर विषयको कोर्ष थप गरेर विज्ञान तथा प्रविधि बनाइएको छ । जुन आधारभूत तह (कक्षा ४ देखि ८) मा लागू गरिएको छ । जसमा अहिले कम्प्युटरको केही एकाई मात्र अध्यापन गराइन्छ ।

माध्यमिक तह (कक्षा ९ देखि १२) मा भने कम्प्युटरलाई वैकल्पिक विषयका रूपमा  राखिएको छ । त्यसबाहेक प्राविधिक धार तर्फ समेत कम्प्युटर विषय रहेको छ ।

विद्यालय तहमा कम्प्युटर विषय पढ्नाले भविष्यमा आईटी पढ्न सहयोग पुग्ने कुरामा दुई मत छैन । तर पाठ्यक्रम परिमार्जन, शिक्षक अभाव, भौतिक पूर्वाधारको कमी जस्ता ‍समस्याले त्यसको प्रभावकारितामा भने असर पुर्‍याइरहेको हुन्छ । 

विद्यालय तहमा कम्प्युटर विषयको अध्यापन गराउनुको मुख्य उद्देश्य विद्यार्थीलाई यस सम्बन्धी सीपको विकास गराउनु रहेको छ । त्यसैले कम्प्युटरका आधारभूत कुराहरूलाई नै यसमा समेटिएका हुन्छन् ।

विद्यालय तहको कम्प्युटर विषयले अवधारणा मात्र दिने माध्यमिक तहको कम्प्युटर विज्ञानका लेखक सुनिलकुमार घर्तीको बुझाई छ। 

“तल्लो तहमा सामान्य विषय समेटिएको छ । विद्यार्थी जतिजति माथिल्ला कक्षामा उक्लिँदै जान्छन्, उनीहरूले थप विषय अध्ययन गर्नुपर्छ,” उनी भन्छन्, “त्यसैले स्नातक तहमा आईसीटीको अध्ययन गर्नेका लागि विद्यालय तहको कम्प्युटरले आधार तयार पार्ने मात्रै हो ।”

नेपालमा प्राय: पाठ्यक्रम परिमार्जन/संसोधन धेरै लामो समयसम्म हुँदैनन् । ‍विद्यालय तहको कम्प्युटर विषयको सन्दर्भमा भने पहिलेको तुलनामा पाठ्यक्रम केही परिवर्तन भएको घर्ती बताउँछन् । 

तर अझै पनि पाठ्यक्रम परिमार्जनमा ध्यान नदिइएको उनको भनाइ छ । यस्तो हुनुको कारण भने कम्प्युटर विषय अध्यापन गराउने दक्ष शिक्षक र भौतिक पूर्वाधारको अभाव भएको कम्प्युटर विज्ञानका अर्का लेखक सुशील उप्रेतीको बुझाइ छ ।

“पाठ्यक्रम परिमार्जनको कुरा धेरै उठ्ने गरेता पनि सबै ठाउँमा दक्ष शिक्षक छैनन् । भौतिक पूर्वाधार छैन,” उनी भन्छन्, “अहिलेका पछिल्ला प्रोग्रामिङ ल्याङ्ग्वेज थप्न नसकिने होइन । तर सबै ठाउँमा लागू गर्दा त्यसको प्रभावकारिता हुँदैन । त्यसैले ती सबै पक्षलाई हेर्दा पाठ्यक्रम परिमार्जन ढिलो हुने गरेको हो ।”

नेपालमा कम्प्युटर विषय पढाउने शिक्षकको अभावमा पनि कम्प्युटर विषयको अध्ययन प्रभावित हुने गर्छ । तर त्यसलाई सम्बोधन गर्न समय समयमा कम्प्युटर शिक्षकको दरबन्दी खुलाउने गरेको शिक्षा सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठा बताउँछन् ।

त्यस्तै उच्च शिक्षामा सूचना तथा सञ्चार प्रविधि विषय अध्ययन गरेका धेरै जना शिक्षणमा आउन नचाहने घर्ती सुनाउँछन् । प्राय: उनीहरू रिमोट वर्क गर्न रुचाउने, अन्य काम गर्ने भएकाले शिक्षण पेशामा नलागेको उनको बुझाई छ ।

तर उप्रेतीका अनुसार कम्प्युटर विषयको विशेष दरबन्दी नै नभएकाले यस्तो समस्या आएको हो । यदि त्यो समस्या समाधान गर्ने मात्र हो भने पनि शिक्षक समस्या केही हदसम्म कम हुने उनी सुझाउँछन् । 

 

कस्तो छ विद्यालयमा पढाइने कम्प्युटर विषय ? 

विद्यालय तहको कम्प्युटर विषयमा आधारभूत ज्ञान दिने विषयवस्तु छन् । प्रोग्रामिङ ल्याङवेजमा क्यू बेसिक र सी छन् । त्यस्तै वेब पेज, डेटाबेस, मल्टिमिडिया र ग्राफिक्स डिजाइन जस्ता विषय छन् । यस बाहेक कम्प्युटरसँग सम्बन्धित व्यक्ति, घटना आदि पनि विद्यार्थीलाई पढाइन्छ । 

कम्प्युटर विषयमा सैद्धान्तिक बाहेक प्रयोगात्मक कक्षा पनि छ । त्यसले विद्यार्थीको सीप पनि विकास हुने गर्छ । यसै कारण अध्ययन पछि कामको अवसर पनि रहेको छ ।

तर धेरै जनाले उच्च शिक्षामा नै जोड दिने भएकाले विद्यालय तहपछि नै काम गर्ने विद्यार्थीहरूको सङ्ख्या भने निकै कम छ । यद्यपि विद्यार्थीले माध्यमिक तहमा कम्प्युटर अध्ययन पछि सामान्य काम गर्न सक्ने कम्प्युटर विज्ञानका लेखक सुनिलकुमार घर्ती बताउँछन् ।

“विद्यार्थीले फोटोकपी गर्ने, सामान्य फोटोशपको काम गर्ने, टाइपिङ गर्ने जस्ता काम गर्न सक्छन्,” उनी भन्छन्,  “तर पाठ्यक्रमको उद्देश्य काम गर्ने जनशक्ति उत्पादन गर्ने भन्दा पनि आधारभूत सीप विकास गर्नु रहेको छ ।”


 

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८० १६:३०