close

संसदमा उठेका प्रश्नको जवाफ जनताले हेर्न मिल्ने गरी वेबसाइटमा राखियोस्ः तोसिमा कार्की

टेकपाना टेकपाना

बैशाख १२, २०८० १४:५६

संसदमा उठेका प्रश्नको जवाफ जनताले हेर्न मिल्ने गरी वेबसाइटमा राखियोस्ः तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले संसदमा उठेका प्रश्नको जवाफ जनताले हेर्न मिल्ने गरी वेबसाइटमा राख्न सुझाव दिएकी छन् ।

मंगलबार प्रतिनिधि सभाकाे बैठकमा बोल्दै सांसद कार्कीले संसदमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रालयले नसुन्ने र जनताले पनि थाहा नपाउने भएकाले त्यस्ता प्रश्न र जवाफ सार्वजनिक रूपमा वेबसाइटमा राख्न संसदसमक्ष माग राखेकी हुन् ।

"हामी संसदमा आइपुग्न निर्वाचनमा अरबौं खर्च हुन्छ । एक दिनको संसदीय बैठकमा लाखौं खर्च हुन्छ," सांसद कार्कीले भनिन्, "आर्थिक पक्षभन्दा पनि मूल्यवान आशा भरोसा विश्वास नागरिकको हामीसँग जोडिएको हुन्छ । हामी प्रश्न उठाउँछौं, उत्तर आउँदैन ।"

''प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५ को उपनियम २ मा स्पष्ट व्यवस्था छ, सात दिनभित्र सम्बन्धित मन्त्रालयले जवाफ दिनुपर्छ । तर, खै ललितपुरमा स्वास्थ्य बीमा कहिले आउँछ ? भैँसीपाटी सडक कहिले बनिसक्छ ? स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढ्छ ? यो प्रश्नहरूको जवाफ आएन," उनले अगाडि भनिन्, "यो सदन हामी सांसदहरूको भन्दा पनि सार्वभौम नेपाली जनताको बढी हो । सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक छ । समस्या मात्र राख्दिनँ महोदय म, समाधान पनि दिन चाहन्छु । के के प्रश्न उठे ती प्रश्नहरूको अवस्था के छ भनेर आम नागरिकले हेर्ने गरि वेबसाइटमा राख्ने व्यवस्था मिलाइयोस् ।"

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८० १४:५६