close

अनुसन्धानकर्मीले विकास गरे भौतिक रूपमै छोएको महसुस हुने टचस्क्रिन

टेकपाना टेकपाना

बैशाख १७, २०८० १२:७

अनुसन्धानकर्मीले विकास गरे भौतिक रूपमै छोएको महसुस हुने टचस्क्रिन

काठमाडौं । अहिलेको स्मार्टफोनको लक स्क्रिनमा देखिने नोटिफिकेसन अथवा फोन अनलक हुँदा देखिने नोटिफिकेसन तपाईँलाई कस्तो लाग्छ ? स्मार्टफोन अनुसार नोटिफिकेसन देखिने फिचर फरक-फरक छन् ।

कुनै स्मार्टफोनमा स्क्रिनको माथिपट्टि नोटिफिकेसन देखा पर्छ भने कुनै स्मार्टफोनमा स्क्रिनकाे तलबाट आउँछ । यो नोटिफिकेसनको फिचर देखेर यदि तपाईँ दिक्क हुनुभएको छ र अब स्मार्टफोनमा केही नयाँ आओस् भन्ने सोचिरहनु भएको छ भने तपाईँका लागि अनुसन्धानकर्मीले नयाँ प्रविधि विकास गरेका छन् ।   

सोच्नुहोस् त तपाईँको मोबाइलमा कुनै नोटिफिकेसन आउँछ । सो नोटिफिकेसन हेर्नका लागि तपाईँ ट्याप गर्नुहु्न्छ । तर तपाईँलाई कुनै स्क्रिनमा छोएको महसुस नभई भौतिक रुपमा नै कुनै वस्तुमा छोएको जस्तो महसुस हुँदा कस्तो हुन्छ होला ?

उदाहरणका लागि तपाईँले आफ्नो फोन अनलक गर्न फोनमा तपाईँको कि भौतिक रुपमा नै छोएको जस्तो गरेर थाहा पाउन सक्नु नयाँ हाइड्रोलिक ह्याप्टिक प्रविधिको अवधारणा हो । यो प्रविधि विशेषगरी देख्ने क्षमता अर्थात् आँखामा समस्या भएका प्रयोगकर्ताका लागि उपयोगी हुने बताइएको छ ।

अमेरिकास्थित कार्नेगी मेलन विश्वविद्यालयका अनुसन्धानकर्मीहरूले यो डिस्प्लेको अवधारणा बनाएको हो । अनुसन्धानकर्मीको टोलीले यो प्रविधिलाई 'embeded electroosmotic pumps for scalable shape displays' नाम दिएको छ ।

यो योजनाअन्तर्गत ओएलईडी जस्तो पातलो डिस्प्लेहरूमा हाइड्रोलिक ह्याप्टिक प्रविधि प्रयोग गरिनेछ, जसले प्रयोगकर्तालाई मोबाइलमा भएका कुनै सिम्बोल वा आइकनमा छुँदा भौतिक रुपमै छोएको जस्तो महसुस दिनेछ ।

यो प्रविधि पछि गएर किबोर्डमा पनि प्रयोग हुनसक्ने बताइएको छ । अन्वेषकहरूका अनुसार डिस्प्लेको इलेक्ट्रोस्मोटिक पम्पहरू व्यासमा २ मिलिमिटर र अधिकतममा १० मिलिमिटरसम्म हुनसक्नेछ ।

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८० १२:७