close

सरकारी डेटा सेन्टरबाटै डेटा गायब भएपछि लोकसेवाले पुनः खुलायो ८८२ पदको विज्ञापन

टेकपाना टेकपाना

बैशाख २०, २०८० १०:१

सरकारी डेटा सेन्टरबाटै डेटा गायब भएपछि लोकसेवाले पुनः खुलायो ८८२ पदको विज्ञापन

काठमाडौं । सरकारी एकीकृत डेटा सेन्टर (जीआईडीसी) बाट लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणालीका डेटा गायब भएपछि पुनः दरखास्त आह्वान गरिएको छ । आयोगले बुधबारको गोरखापत्रमा ८८२ पदका लागि पुनः तीन पृष्ठ लामो विज्ञापन प्रकाशित गरेको हो ।

२३ फागुन २०७९ मा जीआईडीसीमा समस्या सिर्जना भएको र त्यसपश्चात् उक्त डेटा रिकभरीको कार्य भइरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले बताउँदै आएको छ ।

तर केन्द्रले प्रक्रिया कहिले पूरा हुन्छ र के कति डेटा रकभरी हुने भन्ने विषयमा यकिन गर्न नसकिने बताएपछि लोकसेवाले पूर्व प्रकाशित विज्ञापन सम्बन्धी कार्यहरूलाई यथास्थितिमा राखिरहँदा यही २०८० साल जेठदेखि सञ्चालन हुने गरी तोकिएका परीक्षा कार्यक्रम समयमै सम्पन्न हुन नसकी आयोगको कार्य तालिका गम्भीर रुपमा प्रभावित हुने अवस्था थियो ।

यसबाट दरखास्त दिई परीक्षाको तयारी गरिरहेका उम्मेदवारहरूलाई समेत मर्का पर्न जाने देखिएपछि आयोगले २०७९ को मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरू पुनः प्रकाशित गरेको हो । दस्तुर बुझाई दरखास्त स्वीकृत भएका र स्वीकृत हुन बाँकी सबै उम्मेदवारहरूबाट मात्र पुनः दरखास्त आह्वान गरिएको छ ।

आयोगका अनुसार सम्बन्धित उम्मेदवारहरूले १८ जेठ २०८० भित्र पुनः दरखास्त पेश गरी सक्नुपर्ने बताइएको छ । आयोगको अनलाइन दरखास्त प्रणालीमा लगइन गरेपश्चात् पुनः दरखास्त मेनुमा क्लिक गरी प्राप्त निर्देशन अनुसार दरखास्त सम्बन्धी विवरण अद्यावधिक गर्नुपर्नेछ ।

यस अघि दरखास्त पेश गर्ने कुनै उम्मेदवारको प्रोफाइल आयोगको दरखास्त प्रणालीमा उपलब्ध नभई लगइन गर्न असमर्थ भएको अवस्थामा त्यस्ता उम्मेदवारहरूले साविकमा दरखास्त पेश गर्दा आफूले उल्लेख गरेको मोबाइल नम्बर प्रयोग गरी नयाँ प्रोफाइल खोलेर पुनः दरखास्त पेश गर्न सक्नेछन् ।

त्यस्तै यस अघि उम्मेदवारले दरखास्त दस्तुर बुझाएको राजस्व सम्बन्धी विवरण नेपाल सरकारको राजस्व व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त गरी अनलाइन दरखास्त प्रणालीमा अद्यावधिक गरिसकिएको छ । त्यसैले यस्ता उम्मेदवारहरूले पुनः दरखास्त पेश गर्दा दरखास्त दस्तुर बुझाउनु पर्ने छैन ।

पुनः दरखास्त आह्वान गरिएका विज्ञापनहरूमा साविकमा जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो, सोही समूहको विज्ञापनमा मात्र आवेदन गर्नुपर्नेछ । पुनः दरखास्त प्राप्त भएपश्चात साविकमा स्वीकृत भइसकेका दरखास्तहरू अनलाइन दरखास्त प्रणालीबाटै पहिचान गरी पुनः दरखास्त स्वीकृत हुने प्रबन्ध मिलाइएको छ ।

साविकमा स्वीकृत हुन बाँकी रहेका दरखास्तसँग सम्बन्धित पुनः दरखास्त जाँच गरी यथाशीघ्र स्वीकृतिको कार्य सम्पन्न गरिने आयोगले जनाएको छ । दरखास्त स्वीकृतिको जानकारी सम्बन्धित उम्मेदवारले एसएमएसमार्फत प्राप्त गर्नेछन् । यसरी दरखास्त स्वीकृत भएपश्चात नयाँ रोल नम्बर सहितको प्रवेशपत्र जारी हुनेछ ।

राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) नायब सुब्बा वा सो सरह र स्वास्थ्य सेवाको पाँचौ तहका पदका लागि २५ माघ २०७९ मा प्रकाशित विज्ञापनमा दोब्बर दस्तुरको म्याद कायम रहँदै आयोगको दरखास्त प्रणाली अवरुद्ध हुन गएको भन्दै दरखास्त बुझाउन बाँकी उम्मेदवारहरूका लागि पुनः दरखास्तको अवधि समाप्त भएपश्चात निश्चित अवधि तोकी अर्को सूचना मार्फत दरखास्त आह्वान गरिने आयोगले स्पष्ट पारेको छ ।

उक्त विज्ञापनहरूमा साविकमा दरखास्त बुझाई दस्तुर बुझाउन बाँकी उम्मेदवारहरूले समेत फेरि दरखास्त पेश गरी दस्तुर बुझाउने व्यवस्था मिलाइनेछ । साथै आयोगले आर्थिक वर्ष २०७९/८० मा विज्ञापन प्रकाशित गरी परीक्षा सञ्चालन हुन बाँकी पदहरूका लागि तोकिएका परीक्षा कार्यक्रमहरू परिमार्जन गरी नयाँ परीक्षा कार्यक्रम प्रकाशन गरिएको छ । 

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८० १०:१