close

सामसङका कर्मचारीलाई च्याटजीपीटी प्रयोगमा प्रतिबन्ध

टेकपाना टेकपाना

बैशाख २२, २०८० ११:२५

सामसङका कर्मचारीलाई च्याटजीपीटी प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सामसङले आफ्ना कर्मचारीलाई च्याटजीपीटी, गुगल बार्ड, बिङ जस्ता जेनेरेटिभ एआई टुलको प्रयोगमा प्रतिबन्ध लगाएको छ । सोमबार नयाँ नीति सार्वजनिक गर्दै कम्पनीले यस्तो निर्णय सुनाएको हो ।

योसँगै कम्पनीको स्वामित्वमा रहेका कम्प्युटर, ट्याब्लेट, फोन तथा आन्तरिक नेटवर्कमा जेनेरेटिभ एआईको प्रयोगमा प्रतिबन्ध लागेको छ । एआईमा प्रयोग हुने डेटा बाह्य सर्भरमा राखिने र थर्ड पार्टीले त्यसमा पहुँच पाउनसक्ने भएकाले सुरक्षालाई कारण देखाउँदै सामसङले त्यसो गरेको बताइएको छ ।

त्यस्तै केही समयअगाडि सामसङका इन्जिनियरले गल्तीवश च्याटजीपीटीमा इन्टर्नल सोर्स कोड अपलोड गरेपछि यस्तो निर्णय आएको आँकलन पनि गरिएको छ ।

यद्यपि यो प्रतिबन्ध अस्थायी भएको कम्पनीको भनाइ छ । कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न सुरक्षित तरिकाले जेनेरेटिभ एआई प्रयोगको वातावरण तयार नभइन्जेल प्रतिबन्ध लागू हुने कम्पनीले जनाएको छ ।

यसअघि एआईले समाजलाई जोखिममा पार्ने बताउँदै यसको विकास रोक्न विभिन्न एआई ल्याबलाई गत मार्चमा सयौं विज्ञले खुला पत्र लेखेका थिए ।

पछिल्लो समय एआईको प्रयोग बढ्दै जाँदा यसको पक्ष-विपक्षमा बहस भइरहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८० ११:२५