काठमाडौं । अनलाइनमा नक्कली विज्ञापन राखी ठगी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा जिल्ला घर भई काठमाडौं डिल्लीबजार बस्ने १९ वर्षिय आदित्य कर्ण रहेका छन् ।
प्रहरीका अनुसार कर्णले फेसबुक, ह्वाट्सएप, इस्टाग्राम, भाइबर जस्ता सामाजिक सञ्जालमा सस्तो मूल्यमा महँगो ब्राण्डका विभिन्न मोडेलका आईफोन तथा मोबाइल सेट बिक्रीमा छ भनी विज्ञापन राख्ने गर्थे । ती सामाजिक सञ्जालमा उनले आफ्नो हाट्सएप नम्बरसहित आकर्षक विज्ञापन बनाएर पब्लिक पोस्ट गर्थे ।
त्यसपछि उक्त मोडेलका मोबाइल सेटहरु किन्न आएका ग्राहकलाई आफ्नो परिचय फरक-फरक बताई पोखरा, चितवन लगायतका स्थानहरूमा मोबाइल पसल छ भनेर मोबाइलको मूल्य, डेलिभरी चार्ज, कुरियर चार्ज जस्ता कुराका लागि रकम पठाउन अनुरोध गर्थे । तर पैसा पाएपछि भने उनले मोबाइल सेट उपलब्ध नगराई गायब हुन्थे ।
यसपछि केही पीडितले उनीमाथि प्रहरी कार्यालयमा उजुरी दर्ता गरे । आज (बिहिबार) काठमाडौं उपत्यका अपराधा अनुसन्धान कार्यालयले एक विज्ञप्ति जारी गर्दै उनी पक्राउ परेको जानकारी दिएको छ ।
विज्ञप्ति अनुसार उनले १५ जनालाई त्यसरी नै चार लाख ४५ हजार रुपैयाँ ठगी गरेका थिए । कर्णलाई प्रहरीले ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको छ ।