close

गुगलले ल्यायो आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन, मूल्य २ लाख ३५ हजार

टेकपाना टेकपाना

बैशाख २८, २०८० ८:३९

गुगलले ल्यायो आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन, मूल्य २ लाख ३५ हजार

काठमाडौं । गुगलले आफ्नो पहिलो फोल्डेबल फोन सार्वजनिक गरेको छ । बुधबार 'गुगल आई/ओ २०२३' कार्यक्रम गर्दै कम्पनीले 'पिक्सेल फोल्ड' नामको फोल्डेबल फोन सार्वजनिक गरेको हो । योसँगै सामसङको फोल्डेबल फोनको बजारमा चुनौती पुग्ने विश्लेषण गरिएको छ ।

१७९९ डलर अर्थात् दुई लाख ३५ हजार रुपैयाँबाट सुरु हुने यो फोनको प्रि-अर्डर सुरु भएको कम्पनीले जानकारी दिएकाे छ ।

यो स्मार्टफोनमा ५.८ इन्चको बाहिरी ओलेड डिस्प्ले र ७.६ इन्चको भित्री डिस्प्ले दिइएको छ । दुवै डिस्प्लेमा १२० हर्जसम्मको रिफ्रेस रेट प्रदान गरिएको छ ।

त्यस्तै फोनमा गुगलको आफ्नै टेन्सर जी टू चिपसेट प्रयोग भएको छ । पानी प्रतिरोधीका लागि यसमा आईपी एक्स ८ प्रविधि (IPX8) राखिएको छ ।

फोनको पछाडि पाँच गुणा अप्टिकल जुम सुविधासहित ट्रिपल क्यामेरा सेटअप दिइएको छ, जसको मुख्य सेन्सर ४८ मेगापिक्सेलको छ । त्यस्तै सेल्फी क्यामेरा ८ मेगापिक्सेलको छ ।

यो फोन १२ जीबी र्‍याममा उपलब्ध हुनेछ, जसमा २५६ जीबी र ५१२ इन्टर्नल स्टोरेजको विकल्प दिइएको छ ।

अन्य फिचरकाे कुरा गर्दा फाेनकाे पावर बटनमा फिङ्गरप्रिन्ट सेन्सर इम्बेड गरिएको छ भने भौतिक सिम र ई-सिमका लागि छुट्टाछुट्टै स्लट राखिएको छ ।

यसमा ४८२१ एमएएचको ब्याट्री दिइएको छ, जसमा प्रयोगकर्ताले गुगलकै ३० वाटको यूएसबी-सी चार्जर पाउनेछन् ।

कम्पनीले यो फोनको प्रिअर्डर लिन थालिसकेकाे छ । मे महिनाको पहिलो हप्तादेखि विश्व बजारमा बिक्रीका लागि पठाउने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८० ८:४७