काठमाडौं । पुराना कुरा सम्झाउने फेसबुकको गज्जबको फिचर छ, फेसबुक मेमोरिज (Facebook Memories) । यसमा विगतका वर्षको कुनै दिन फेसबुकमा गरेका गतिविधि नयाँ वर्षमा त्यही दिन सम्झाउने गर्छ । रमाइलो क्षण छ भने त ठीक छ । तर आफू समस्यामा परेको, नराम्रो क्षण भने केही समय भएपनि मन अमिलो हुन्छ ।
तर कुन मेमोरिज देखाउने कुन नदेखाउने भनेर सेटिङमार्फत कस्टमाइज गर्न सकिन्छ, अर्थात् आफूलाई अनावश्यक कुरा लुकाउन सक्नुहुन्छ । आज हामी फेसबुक एपमा मेमोरीहरु कसरी लुकाउने भनेर जानकारी दिँदैछौं ।
-फेसबुक एप खोल्नुहोस् ।
-दायाँ भागको माथि रहेको मेनु बटन जानुहोस् ।
-तल स्क्रोल गर्दै जानुहोस् । त्यहाँ मेमोरिज भन्ने विकल्प देखिन्छ । त्यसमा ट्याप गर्नुहोस् । त्यहाँ तपाईँले आजको दिनको मेमोरी देख्नुहुनेछ ।
-अब मेमोरिज सेटिङमा जान सबैभन्दा माथि रहेको ‘गेयर आइकन’मा ट्याप गर्नुहोस् ।
-त्यहाँ ‘अल मेमोरिज’, ‘हाइलाइटस्’ र ‘नन्’ भन्ने विकल्प देखिन्छ । ‘अल मेमोरिज’ले त्यो दिनमा भएका मेमोरीहरु देखाउँछ । ‘हाइलाइटस्’ ले विशेष भिडिओ अथवा कलेक्सन मात्र देखाउँछ । त्यस्तै ‘नन्’ ले केही पनि देखाउँदैन ।
यी सेटिङ परिवर्तन गरेर तपाईँले फेसबुकले देखाउने मेमोरिज परिवर्तन सक्नुहुन्छ । तर अझ विशेष सेटिङ चाहनुहुन्छ भने ‘मेमोरिज सेटिङ’ भित्र भएको ‘पिपल’मा क्लिक गर्नुहोस् ।
त्यहाँ तपाईंले आफ्नो कुनै साथीको नाम टाइप गरेर उसँग सम्बन्धित मेमोरीहरु लुकाउन सक्नुहुन्छ । यसो गर्दा उक्त व्यक्तिले केही पनि कुरा थाहा पाउँदैन ।
त्यस्तै तपाईंले कुनै मितिका आधारमा पनि मेमोरिज लुकाउन सक्नुहुन्छ । यसका लागि 'मेमोरिज' सेटिङभित्र भएको ‘डेट’मा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले कुनै दिन, हप्ता, महिना र वर्ष राख्न सक्नुहुन्छ । मिति राखेपछि ‘डन’ मा क्लिक गरेर ‘सेभ’ बटन प्रेस गर्नुहोस् ।
यसरी तपाईंले फेसबुकले देखाउने मेमोरिजको सेटिङ परिवर्तन गर्न सक्नुहुनेछ ।