close

भारतपेका सहसंस्थापक अश्नीर ग्रोभर विरुद्ध एक अर्ब २८ करोड ठगीको मुद्दा

टेकपाना टेकपाना

बैशाख २९, २०८० १६:२९

भारतपेका सहसंस्थापक अश्नीर ग्रोभर विरुद्ध एक अर्ब २८ करोड ठगीको मुद्दा

काठमाडौं । दिल्ली पुलिसको अपराध शाखाले भारतपेका पूर्व प्रबन्ध निर्देशक तथा सहसंस्थापक अश्नीर ग्रोभर र उनीकी श्रीमती माधुरी जैन ग्रोभर विरुद्ध मुद्दा दायर गरेको छ । गत वर्ष ८१ करोड भारु (एक अर्ब २८ करोड रुपैयाँ) ठगी गरेको भन्दै उनीहरू विरुद्ध उक्त मुद्दा दायर गरिएको हो । 

भारतपेले दायर गरेको उजुरीमा ग्रोभर र उनको परिवारले कम्पनीको कोष दुरुपयोग गरेको आरोप छ । यद्यपि ग्रोभरले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् । 

गत डिसेम्बरमा भारतपेले देवानी सँगसँगै अपराध मुद्दा दायर गरेको थियो । प्रहरीका अनुसार रिसेलियन्ट इनोभेसन प्रालि (भारतपे) को नाममा दर्ता उजुरीमा अनेक जालसाँझी, नक्कली कागजात र अस्तित्वमै नरहेका फर्महरूलाई भुक्तानी दिन भारतपेको कोष दुरुपयोग गरेको आरोप छ । 

उक्त आपराधिक कार्यले गलत तरिकाबाट कम्पनीलाई करिब ८१ करोड भारु नोक्सान भएको उल्लेख छ ।

भारतपेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "ग्रोभर, उनकी श्रीमति र परिवारका अन्य सदस्यले गरेको आपराधिक कार्य विरुद्ध कम्पनीले दायर गरेको उजुरीलाई लिएर दिल्ली पुलिसको आर्थिक अपराध शाखाले दायर गरेको एफआईआर (मुद्दा) लाई स्वागत गर्दछौं ।" 

विगत १५ महिनादेखि कम्पनी, बोर्ड र उसका कर्मचारी ग्रोभरले चलाएको दुष्ट एवम् द्वेषपूर्ण अभियानको सामना गर्न विवश रहेको समेत बताइएको छ । "एफआईआर दर्ता हुनु त्यस परिवारले आफ्नो व्यक्तिगत आर्थिक लाभका लागि गरेका विभिन्न सन्दिग्ध लेनदेन उजागर गर्ने दिशामा उचित कदम हो," कम्पनीले भनेको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८० १६:२९