काठमाडौं । ओप्पोले आफ्नो चिप व्यवसाय बन्द गर्ने घोषणा गरेको छ । सन् २०१९ देखि सुरु गरेको चिप उत्पादनबाट नाफा कमाउन नसकेपछि कम्पनीले बन्द गर्ने निर्णय लिएको हाे ।
ओप्पोले 'जेकु' नाममा इन-हाउस को-प्रोसेसर, मोडेमहरू, पावर म्यानेजमेन्ट चिप, अडियो/डिस्प्ले चिप लगायतकाे उत्पादन गर्दै आएको थियो ।
दुई हप्ताअघि मात्र नयाँ कर्मचारी माग गरेको कम्पनीले चिप उत्पादन बन्द गर्ने घोषणा गर्दा बजारमा यसको चर्चा बढेको छ ।
विश्व अर्थतन्त्र र स्मार्टफोन बजार खस्कँदा ओप्पोले चीनको साङ्घाइस्थित चिप उत्पादन गर्ने प्लान्ट बन्द गर्न लागेकाे चिनियाँ सञ्चारमाध्यम जीएसएम एरेनाले जनाएकाे छ ।
अमेरिकासहित केही देशले चीनमा उत्पादित सामग्रीको आयातमा प्रतिबन्ध लगाउँदा चीनका चिप निर्माता कम्पनीहरू अहिले समस्यामा छन् ।
ओप्पोले यो व्यवसायमा एक अर्ब ४० करोड डलरभन्दा बढी लगानी गरेको थियो ।