close

अब जिब्रोबाटै विद्युतीय उपकरण नियन्त्रण गर्न सकिने !

टेकपाना टेकपाना

जेठ १, २०८० १५:५८

अब जिब्रोबाटै विद्युतीय उपकरण नियन्त्रण गर्न सकिने !

काठमाडौ । शारीरिक रूपमा अशक्त व्यक्तिले अब आफ्नो जिब्रो प्रयोग गरी विद्युतीय उपकरण नियन्त्रण तथा प्रयाेग गर्नसक्ने भएका छन् ।

‘अगमेन्टल’ नामक एक अमेरिकी कम्पनीले अपाङ्गता भएका व्यक्तिका लागि लक्षित गर्दै नयाँ प्रविधि विकास गरेकाे छ, ​जसले जिब्रोको मद्दतले विद्युतीय उपकरण प्रयोग गर्न सकिने दाबी गरिएकाे छ ।

माउथप्याड’ नाम राखिएकाे याे प्रविधिले  मुखले नियन्त्रण गर्नुपर्ने जोयस्टिक जस्तो जटिल उपकरणकाे प्रयाेग हटाउने कम्पनीले जनाएकाे छ ।

एप्पल सिरी, एलेक्जाजस्ता भोइस कन्ट्रोल टेक्नोलोजी प्रयोग गर्नुभन्दा माउथप्याड धेरै उपयाेगी हुने पनि कम्पनीकाे दाबी छ । 

माउथप्याड एक 'बेस्पोक' अर्थात् आवश्यकता अनुसार परिमार्जन गरिएको डिभाइस हो । यसलाई प्रयोगकर्ताको मुखको संरचनाअनुसार डिजाइन गरिन्छ । यसैले एउटा प्रयोगकर्ताको माउथप्याड अर्कोसँग नमिल्न सक्छ ।

यसलाई प्रयोगकर्ताको मुखभित्र राखिन्छ । हेर्दा माउथप्याड प्लास्टिक रिटेनरजस्तै देखिन्छ  । यसभित्र ट्र्याकप्याड, प्रेसर सेन्सर, ब्याट्री, चार्जिङ कोइल, ब्लुटुथ चिपलगायत राखिन्छ ।

यसमा भएको ट्र्याकप्याड प्रयोगकर्ताको डिभाइस कन्ट्रोल गर्न प्रयोग गरिन्छ । ​ट्र्याकप्याडमा जिब्रोले छोएको थाहा पाउने काम प्रेसर कन्ट्रोलले गर्छ । त्यस्तै चार्जिङ कोइलले डिभाइसलाई बिना तार (वायरलेस) चार्ज गर्छ ।

साथै ब्लुटुथ चिपले प्रयोगकर्ताको डिभाइसहरूसँग सञ्चार गर्ने गर्छ ।

माउथप्याड नरम, लचिलो सामग्रीबाट बनेको हुन्छ । यो वाटरप्रुफ पनि भएकाले खाने वा पिउने बेलामा समेत यसलाई लगाउन सकिने बताइएकाे छ ।

यद्यपि माउथप्याड बजारमा उपलब्ध भएको छैन । हाल कम्पनीले यस डिभाइसको सुरक्षा र प्रभावकारिताको परीक्षण गर्न क्लिनिकल परीक्षण (ट्रायल) गरिरहेको छ ।

साथै यस डिभाइसले अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी)बाट प्रमाणीकरण पाउन बाँकी छ । कम्पनीका अनुसार यी काम सकिनासाथ यस डिभाइस बजारमा उपलब्ध हुनेछ ।

अहिले भने डिभाइस किन्न चाहने व्यक्ति कम्पनीको वेबसाइटबाट वेटलिस्टमा बस्न सक्छन् ।

विश्व स्वास्थ्य संघठनका अनुसार अहिले विश्वको कूल जनसंख्याको १६ प्रतिशत अर्थात् एक अर्ब ३०० करोड शारीरिक रूपमा अशक्त छन् । यस प्रविधिले ती मानिसहरूलाई ठूलो सहयोग गर्ने विश्वास गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८० १६:२२