close

तपाईँको स्मार्टफोनमा हुने एन्ड्रोइड सिस्टम इन्टेलिजेन्स के हो, अनि कसरी गर्छ काम ?

टेकपाना टेकपाना

जेठ ४, २०८० १९:४४

तपाईँको स्मार्टफोनमा हुने एन्ड्रोइड सिस्टम इन्टेलिजेन्स के हो, अनि कसरी गर्छ काम ?

काठमाडौं । तपाईं हामीले प्रयोग गर्ने एन्ड्रोइड फोनलाई सही तरिकाले सञ्चालन गर्न सघाउने थुप्रै एप हुन्छन् । यस्ता एपले फोनलाई आवश्यक सेवा दिँदै ब्याकग्राउन्डमा काम गरिरहेका हुन्छन् । विशेषगरी एन्ड्रोइड सिस्टम वेबभ्यु, एन्ड्रोइड एक्सेसिबिलिटी सुइट (Suite) र एन्ड्रोइड सिस्टम इन्टेलिजेन्स प्रमुख एप हुन् ।

तपाईंको फोनको ब्याकग्राउन्डमा रहेर फोनलाई सही ढङ्गले सञ्चालन गर्नेमध्ये एन्ड्रोइड सिस्टम प्रमुख सर्भिस हो । यसमा तपाईंलाई काम लाग्ने थुप्रै फङसन र फिचरहरू हुन्छन् । हामीले यहाँ एन्ड्रोइड सिस्टम इन्टेलिजेन्सका बारेमा विस्तृतमा चर्चा गरेका छौं:

के हो एन्ड्रोइड सिस्टम इन्टेलिजेन्स ?

झट्ट नाम सुन्दा एन्ड्रोइड सिस्टम इन्टेलिजेन्स नयाँ सर्भिस हो भन्ने लाग्न सक्छ । तर, यो गुगलको पुरानो एप 'डिभाइस पर्सनलाइजेसन सर्भिस' को नयाँ संस्करण हो । जुन अगस्ट २०१८ मा एन्ड्रोइड ९ सँगै सार्वजनिक भएको थियो ।

एन्ड्रोइड सिस्टम इन्टेलिजेन्स त्यस्तो सेवा हो, जसले एन्ड्रोइड स्मार्टफोनमा विभिन्न स्मार्ट फिचरहरू उपलब्ध गराएको हुन्छ ।

यो एप प्रायः एन्ड्रोइड फोनमा उपलब्ध हुन्छ, जसलाई गुगल प्ले सर्भिसबाट इन्स्टल गर्न सकिन्छ । तर, यसमा भएका प्रिमियम फिचर भने गुगल पिक्सेल फोनका लागि मात्र उपलब्ध छन् ।

गुगलका अनुसार एन्ड्रोइड सिस्टम इन्टेलिजेन्स यस्तो सिस्टम एप हो, जसले स्मार्टफोनलाई स्मार्ट बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।

एन्ड्रोइड सिस्टम इन्टेलिजेन्सले के-के काम गर्छ त ?

एन्ड्रोइड सिस्टम इन्टेलिजेन्सले तपाईंको एन्ड्रोइड डिभाइसलाई कसरी स्मार्ट बनाउन मद्दत गरेको हुन्छ भन्ने कुरा उल्लेख गरिएको छ ।

१) लाइभ क्याप्सनः तपाईंले विभिन्न प्लेटफर्ममा भिडिओ हेर्दा त्यसकमा देखिने लाइभ क्याप्सन एन्ड्रोइड सिस्टम इन्टेलिजेन्सकै कारण सम्भव भएको हो ।

२) स्क्रिन अटेन्सनः यही सिस्टमका कारण पिक्सेल फोर मोडेलमा जबसम्म तपाईं स्क्रिनमा हेरिरहनु हुन्छ तबसम्म स्क्रिन अफ हुँदैन ।

३) स्मार्ट अटोरोटेटः तपाईंले फोन घुमाउँदा स्क्रिन रोटेट हुनु पनि एन्ड्रोइड सिस्टम इन्टेलिजेन्सको कमाल हो ।

४) कपी तथा पेस्ट गर्दा सहजीकरणः पहिले एन्ड्रोइड डिभाइसमा टेक्स्ट तथा फोटो कपी गरेर पेस्ट गर्न त्यति सजिलो थिएन । एन्ड्रोइड सिस्टम इन्टेलिजेन्सको उदयपछि यो काम निकै सहज भएको छ ।

५) नोटिफिकेसनका लागि एक्सन बटनः विशेषगरी नोटिफिसेनबाटै मेसेज रिप्लाई गर्न सकिने, कुनै ठाउँका लागि डिरेक्सन थप्नका लागि एक्सन बटन, वा नोटिफिकेसनबाटै कन्ट्याक्टमा एड गर्ने सुविधा पनि एन्ड्रोइड सिस्टम इन्टेलिजेन्सको कमाल हो ।

६) स्मार्ट टेक्सटलाई सिस्टममा सही तरिकाले व्यवस्थापन गर्नुः एन्ड्रोइड सिस्टम इन्टेलिजेन्सले लिङ्क भएका टेक्स्टलाई सहजै पहिचान गर्छ । त्यसैले उक्त टेक्स्टलाई लामो समयसम्म ट्याप गर्यो भने कपी हुन्छ । र, छोटो समय वा एकपटक ट्याप गर्दा लिङ्क खुल्छ ।

७) लाइभ ट्रान्सलेटः विभिन्न भिडिओमा भएका अन्य भाषालाई अनुवाद गरेर प्रयोगकर्ता अनुकूल बनाउने काम पनि स्मार्ट सिस्टम इन्टेलिजेन्सले गर्छ ।

८) टेक्स्टलाई लिङ्क बनाउनेः एन्ड्रोइड सिस्टम इन्टेलिजेन्सले एपमा भएको टेक्स्टलाई लिङ्कमा परिणत गर्छ ।

९) एप सर्चः तपाईंले खोजेको एप फेला पार्नका लागि एन्ड्रोइड सिस्टम इन्टेलिजेन्सले एप सर्चको विशेषता उपलब्ध गराउँछ ।

१०) असिस्टेन्ट भ्वाइस टाइपिङः एन्ड्रोइड सिस्टम इन्टेलिजेन्सकै कारण जीबोर्डमा बोलेकै भरमा टेक्स्ट टाइप गर्न सकिन्छ ।

११) नाउ प्लेइङः एन्ड्रोइ सिस्टम इन्टेलिजेन्सले तपाईंको वरपर कुन गीत बजिरहेको छ भन्ने कुरा पहिचान गर्छ ।

के तपाईंका लागि एन्ड्रोइड सिस्टम इन्टेलिजेन्स उपयोगी छ ?

माथि उल्लेख गरिएका फिचर एन्ड्रोइड सिस्टमले उपलब्ध गराएको हुन्छ । लाइभ क्याप्सन, स्मार्ट अटोरोटेट यस्ता फिचरहरू हुन्, जसलाई हामीले ख्याल नगरे पनि हामीलाई फोन प्रयोग गर्न सहज बनाएका हुन्छन् ।

यस्ता फिचरको अभावमा स्मार्टफोनमा हाम्रो अनुभव त्यति उत्कृष्ट हुँदैन । तपाईंले फोन खरिद गरिसकेपछि त्यसलाई सबै तरिकाले सदुपयोग गर्नसके मात्र त्यसले सार्थकता पाउनसक्छ ।

के एन्ड्रोइड सिस्टम इन्टेलिजेन्स हटाउन सकिन्छ ?

एन्ड्रोइड सिस्टम इन्टेलिजेन्सले हाम्रो डिभाइसको स्टोरेज खपत गरेको हुन्छ । डिभाइसमा कम स्टोरेज छ भने त एन्ड्रोइड सिस्टम इन्टेलिजेन्सले दिकदार नै बनाउँछ ।

त्यस्तै ब्याट्री कम टिक्ने डिभाइसमा पनि एन्ड्रोइड सिस्टम इन्टेलिजेन्स बोझकै रूपमा रहेको हुनसक्छ । यस्तोमा तपाईंले यसलाई अनइन्स्टल गर्न खोजिरहनु भएको हुनसक्छ । एन्ड्रोइड सिस्टम इन्टेलिजेन्ट अनइन्स्टल गर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

१. सबैभन्दा पहिले सेटिङमा जानुहोस् ।

२. त्यसपछि 'एप्स' अप्सनमा जानुहोस् ।

३. अनि मेनेज एपको अप्सन छानुहोस् ।

४. यति गरेपछि एपको लिस्ट देखिन्छ । (तपाईंले उक्त लिस्टबाट एन्ड्रोइड सिस्टम इन्टेलिजेन्स एप छान्नुपर्ने हुन्छ ।)

५.  त्यसपछि डिसेबलको बटनमा ट्याप गरी एन्ड्रोइड सिस्टम डिसेबल गर्न सकिन्छ ।

तर, केही एन्ड्रोइड डिभाइसमा छुट्टै एन्ड्रोइड सिस्टम इन्टेलिजेन्स हुँदैन । एन्ड्रोइड सिस्टम इन्टेलिजेन्सले उपलब्ध गराउने हरेक फिचरका लागि छुट्टाछुट्टै एपहरू रहेका हुन्छन् । त्यसका लागि गुगल प्ले स्टोरमा जानुहोस् । र, त्यहाँ एन्ड्रोइड सिस्टम इन्टेलिजेन्स (Android system Intelligence) टाइप गर्नुहोस् ।  

यति गरेपछि तपाईंको डिभाइसमा एन्ड्रोइड सिस्टम इन्टेलिजेन्सका फिचरहरू उपलब्ध गराउने सबै किसिमका एप इन्स्टल भएको देख्न सकिन्छ । यदि त्यहाँ देखाइएका मध्ये कुनै सर्भिस वा भनौं एप उपयुक्त लागेन भने एपमा ट्याप गरेर अनइन्स्टलको अप्सनमा ट्याप गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: जेठ ४, २०८० १९:४४