close

च्याटजीपीटीको एप डाउनलोड गर्नुहोस् भन्दै विज्ञापन देखियो ? सावधान !

टेकपाना टेकपाना

जेठ ५, २०८० ११:५५

च्याटजीपीटीको एप डाउनलोड गर्नुहोस् भन्दै विज्ञापन देखियो ? सावधान !

काठमाडौं । पछिल्लो समय बजारमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटको प्रयोग व्यापक छ । अन्तर्राष्ट्रिय अनुसन्धान कम्पनी टिडिओले गरेको पछिल्लो सर्वेक्षणअनुसार विश्वको एक अर्ब ५० करोड मानिसहरू एआई च्याटबटको पहुँचमा छन् ।

गुगलको बार्ड, माइक्रोसफ्टको बिङ एआई तथा ओपनएआईको च्याटजीपीटीसँगै बजारमा विभिन्न किसिमका एआई टुलहरू उदाउने क्रम जारी छ । प्रयोगकर्तालाई यस्ता टुल कसरी प्रयोग गर्ने भन्ने थाहा नहुँदा त्यसको फाइदा ह्याकरहरूले उठाइरहेका छन् । 

फेसबुक वा गुगलमा च्याटजीपीटी, बार्ड, बिङ एआई जस्ता टुलको नाम सर्च गरियो भने त्यसको विज्ञापन फेसबुकमा देखिन्छ । ती एआई च्याटबटको एप भन्दै विभिन्न आधिकारिक फेसबुक पेजले विज्ञापन गरेको पाइएको छ ।

फेसबुकको मातृ कम्पनी मेटाको नयाँ नीति अनुसार जोसुकैले शुल्क तिरेर ब्लु टिक खरिद गर्नसक्ने भएपछि आधिकारिक पेजजस्तो देखिने फेसबुक पेजबाट एप डाउनलोड गराउने नाममा मालवेयरको आतङ्क फैलाएको देखिन्छ । 

मेटाले गत हप्ता एक रिपोर्ट सार्वजनिक गर्दै च्याटजीपीटी लगायतका एआई टुलको नाम प्रयोग गरी मालवेयर फैलाउने क्रम बढ्दै गइरहेको जनाएको थियो । कम्पनीको उक्त रिपोर्टमा मार्च महिनामा मात्र सयौं फेसबुक पेजबाट १० किसिमका मालवेयर फैलाइएको उल्लेख छ ।

ह्याकरले च्याटजीपीटीमा आधारित विभिन्न टुल तथा एप उपलब्ध गराउने भन्दै विभिन्न मालिसियस ब्राउजर एक्स्टेन्सन दिई प्रयोगकर्तालाई झुक्याउने गरेको कम्पनीले जनाएको थियो ।

कुन च्याटबटको एप छ त ?

हालसम्म माइक्रोसफ्टले मात्र सबै प्रयोगकर्ताका लागि एप तथा वेबसाइटमार्फत एआई च्याटबटको फिचर उपलब्ध गराउँदै आएको छ । तपाईंले बिङ एप सर्च गरेर त्यसलाई इन्स्टल गरी बिङ एआई प्रयोग गर्न सक्नुहुन्छ ।

यता च्याटजीपीटी निर्माता कम्पनीले बिहीबार मात्र आईओएस प्रयोगकर्ताका लागि च्याटजीपीटीको एप सार्वजनिक गरेको छ । तर, अमेरिकामा हुने आईओएस प्रयोगकर्ताले मात्र एपस्टोरबाट च्याटजीपीटीको एप डाउनलोड गर्न सक्छन् । त्यसबाहेक अन्य ठाउँका प्रयोगकर्ताका लागि च्याटजीपीटीको एप उपलब्ध छैन । च्याटजीपीटी प्रयोग गर्नका लागि यहाँ क्लिक गरेर वा ब्राउजरमा (chat.openai.com/chat) सर्च गर्न सक्नुहुन्छ । 

गुगलले भने बार्डका लागि हालसम्म कुनै एप उपलब्ध गराएको छैन । बार्ड प्रयोग गर्नका लागि भने वेबसाइटमै जानुपर्ने हुन्छ । यदि तपाईं बार्ड प्रयोग गर्न चाहनुहुन्छ भने (bard.google.com) सर्च गरेर वा यहाँ क्लिक गरी प्रयोग गर्न सक्नुहुन्छ । 

प्लेस्टोरमा अहिले बार्ड तथा च्याटजीपीटीको नाममा थुप्रै एपहरू उपलब्ध छन् । यस्ता एआई टुलले च्याटजीपीटीकै जस्तै सुविधा दिने भने पनि कुनै न कुनै रूपमा प्रयोगकर्तालाई असर गर्ने साइबर विश्लेषकले जनाएका छन् । त्यसैले एप तथा एक्सटेन्सन प्रयोग गर्ने नाममा मालवेयर इन्सटल नगर्न मेटाले समेत सचेत बनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १४:८