close

बिङलाई डिफल्ट सर्च इन्जिन बनाउने निर्णयबाट पछि हट्यो सामसङ, गुगल नै यथावत्

टेकपाना टेकपाना

जेठ ६, २०८० १५:४१

बिङलाई डिफल्ट सर्च इन्जिन बनाउने निर्णयबाट पछि हट्यो सामसङ, गुगल नै यथावत्

काठमाडौं । सामसङले मोबाइल वेब ब्राउजरमा गुगललाई नै डिफल्ट सर्च इन्जिन बनाउने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द वाल स्ट्रिट जर्नलमा प्रकाशित रिपोर्ट अनुसार यसअघि बिङलाई डिफल्ट सर्च इन्जिन बनाउने निर्णय गरेको सामसङ पुनः गुगललाई नै डिफल्ट सर्च इन्जिन बनाउने निष्कर्षमा पुगेको छ ।

सामसङका फोनमा पहिले नै सामसङको इन्टरनेट ब्राउजर इन्स्टल भएको हुन्छ ।  डिभाइसमा भएको उक्त ब्राउजरका लागि कसलाई डिफल्ट सर्च इन्जिन राख्ने भन्नेमा कम्पनीले आन्तरिक गृहकार्य सुरु गरेको थियो । जसमा कम्पनीले लामो समयदेखि गुगललाई नै डिफल्ट सर्च इन्जिनका रूपमा राखेको थियो । न्यू योर्क टाइम्समा प्रकाशित रिपोर्ट अनुसार गत महिना सामसङले डिफल्ट सर्च इन्जिनका रूपमा रहेको गुगलको सट्टा बिङ राख्ने विषय उठाएको थियो ।

उक्त खबरपछि गुगलका कर्मचारी अचम्मित भएका भएका थिए । जसको परिणाम स्वरूप सामसङले गुगलबाट पाउँदै आएको वार्षिक तीन अर्ब डलर गुमाउने वाला थियो । वाल स्ट्रिट जर्नलका अनुसार सामसङले बिङलाई आत्मसात् गरेपनि प्रयोगकर्तालाई त्यसले खासै धेरै प्रभाव पार्दैन । किनभने सामसङका प्रयोगकर्ता नै उक्त कम्पनीको ब्राउजरलाई डिफल्ट ब्राउजरका रूपमा त्यति प्रयोग गर्दैनन् ।

तर पनि सामसङले गुगलसँग आफ्नो सम्बन्ध र बजारको धारणालाई यो निर्णयले असर गर्ने भन्दै पछि हटेको हो ।

यसो त पछिल्लो समय माइक्रोसफ्ट एआई प्रविधिलाई आत्मसात् गरिरहेको छ । एआईमा माइक्रोसफ्टले गरेको नयाँ प्रविधिले नै सामसङ बिङतर्फ आकर्षित भएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि यसको वास्तविक कारण भने बाहिर आएको छैन ।

यता गुगलले पनि माइक्रोसफ्टलाई पछ्याउँदै आफ्नो एआई टुल विस्तार गरिरहेको छ । त्यसैले पनि अहिले सामसङले आफ्नो निर्णय परिवर्तन नगरेको वाल स्ट्रिटको भनाइ छ । निकट भविष्यमा सामसङको ब्राउजरका लागि बिङ डिफल्ट सर्च इन्जिन नहोला भन्न सकिँदैन ।

पछिल्लो अध्यावधिक: जेठ ६, २०८० १५:४१