close

यस्तो छ मोटोरोलाको फोल्डेबल फोन, कति होला मूल्य ?

टेकपाना टेकपाना

जेठ ८, २०८० १०:३८

यस्तो छ मोटोरोलाको फोल्डेबल फोन, कति होला मूल्य ?

काठमाडौं । फोल्डेबल फोनको बजारमा अग्रणी कम्पनीको रुपमा परिचित मोटोरोलाको नयाँ फोल्डेबल स्मार्टफोन छिट्टै नै सार्वजनिक हुँदैछ । त्यो भन्दा अगाडि फोनका केही आधिकारिक जानकारीहरू बाहिरिएको छन् । 

स्मार्टफोनहरूको विषयमा भित्री जानकारी बाहिर ल्याउने 'ईभीलिक' (@evleaks) ले ट्वीटरमा एउटा भिडिओ शेयर गरेको छ । उक्त भिडिओमा मोटोरोलाको सार्वजनिक हुने तयारीमा रहेको 'मोटोरोला रेजर फोर्टी अल्ट्रा' (Motorola Razr 40 Ultra) फोल्डेबल फोनको डिजाइन देख्न सकिन्छ । 

यो भिडिओ आधिकारिक रुपमा सार्वजनिक हुने भिडिओ हो । उनको ट्वीटका अनुसार यो मोबाइलको नाम विश्वबजारमा मोटोरोला रेजर फोर्टी अल्ट्रा हुनेछ भने अमेरिकी बजारका लागि भने यो फोन 'मोटोरोला रेजर प्लस' को नामले सार्वजनिक हुनेछ । 

यो फो​नको सबैभन्दा ठूलो विशेषता भनेको नै यसको बाहिरको स्क्रिन हो । अन्य फोल्डेबल फोनहरूमा जस्तो यसको बाहिरको स्क्रिन सानो छैन । कम्पनीले यो फोनमा बाहिरको लागि पनि फूल स्क्रिन राखेको छ । यो फोनको बाहिरको स्क्रिन क्यामेराका लागि मात्र नभइ अन्य विभिन्न गतिविधिहरू जस्तै नोटिफिकेसन, मेसेज पठाउन, गेम खेल्न लगायतका कामका लागि पनि प्रयोग हुने भिडिओमा देखाइएको छ ।

फोनमा स्न्यापड्रागन ८ प्लस जेन १ चिप प्रयोग गरिएको छ भने यो फोन १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुने बताइएको छ । फोनमा ३३ वाटको चार्जिङ सपोर्ट सहितको ३,६४० एमएएच ब्याट्री दिइएको छ । एन्ड्रोइड १३ मा आधारित यो फोनमा सोनीको आईएमएक्स५६३ क्यामेरा प्रयोग गरिएको छ । 

हालसम्म बाहिएको जानकारी अनुसार यो फोनको मूल्य १००० डलर (१ लाख ३१ हजार रुपैयाँ) बढी पर्ने अनुमान गरिएको छ । साथै भिडिओका अनुसार यो फोन रातो, ग्रे र कालो रंगमा उपलब्ध हुनेछ ।  

पछिल्लो अध्यावधिक: जेठ ८, २०८० १०:३८