close

सेल्फी खिच्दा खसेको फोन खोज्न तलाउ नै खाली गर्ने कर्मचारी निलम्बित

टेकपाना टेकपाना

जेठ १४, २०८० १०:४५

सेल्फी खिच्दा खसेको फोन खोज्न तलाउ नै खाली गर्ने कर्मचारी निलम्बित

काठमाडौं । भारतको छत्तिसगढमा एक सरकारी कर्मचारीले आफ्नो महँगो फोन निकाल्न जलाशयबाट २१ लाख लिटर पानी पम्प लगाएर निकालेको पाइएको छ । आफ्नो फोनको लागि जलाशयको पानी निकालेको आरोपमा उनलाई निलम्बन पनि गरिएको छ। यद्यपि ती व्यक्तिले भने जलाशयको पानी उपयोग गर्न नसकिने भएको र आफू भन्दा सिनियर कर्मचारीको मौखिक अनुमति लिएर नै यसो गरेको दाबी गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

काँकेर जिल्लाको कोइलीबेडा ब्लकका खाद्य अधिकारी राजेश विश्वास खेरकट्टा उक्त ड्याममा आफ्नो छुट्टी मनाउन गएका थिए । साथीहरूसँग सेल्फी खिच्ने क्रममा उनको करिब १ लाख भारतीय रुपैयाँ बराबरको सामसङको एस२३ अल्ट्रा  जलाशयमा खसेको थियो । 

उनको फोन १५ फिट गहिरो पानीमा खसेको थियो र स्थानीयले त्यहाँ डुबेर खोज्ने प्रयास पनि गरेका थिए जुन असफल भएको थियो । एसपछि ती कर्मचारीले दुई ओटा डिजेल पम्प लगातार तीनदिनसम्म चलाउन लगाएर जलाशयको २१ लाख लिटर पानी बाहिर फ्याकेका थिए । 

यस विषयमा स्थानियबाट गुनासो आएपछि सिँचाइ तथा जलस्रोत विभागका एक अधिकारी घटनास्थल पुगेर उक्त काम रोकेका थिए । तर, रोकिँदासम्म पानीको सतह ६ फिट तल पुगिसकेको थियो । 

राजेश विश्वासले सेल्फी खिच्ने क्रममा आफ्नो हातबाट फोन चिप्लिएर खसेको र आफ्नो फोनमा आधिकारिक विभागीय डेटा भएका कारण यसलाई निकाल्न जरुरी भएको बयान दिएका छन् । 

उनले आफ्नो फोन भने फिर्ता पाइसकेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ १४, २०८० १०:४६