close

छोटा भिडिओमा सामाजिक सञ्जालबिच रोचक प्रतिस्पर्धा, टिकटकलाई चुनौती दिन सक्लान् त मेटा र गुगल ?

टेकपाना टेकपाना

बैशाख २४, २०८२ १४:३

छोटा भिडिओमा सामाजिक सञ्जालबिच रोचक प्रतिस्पर्धा, टिकटकलाई चुनौती दिन सक्लान् त मेटा र गुगल ?

काठमाडौँ । आजभोलि जता हेर्‍यो , त्यता रिल्स, स्टोरी र शर्ट्स देखिन्छन् । सामाजिक सञ्जालमा छोटो भिडिओकै बोलवाला छ । भिडिओको यस किसिमको फर्म्याटले केवल मनोरञ्जनको शैली मात्र बदलिएको छैन, सिङ्गो सामाजिक सञ्जालको स्वरूप नै रूपान्तरित गर्दैछ । र यो रूपान्तरणको केन्द्रमा छ - टिकटक ।

सन् २०१६ मा सुरु भएको टिकटकमा हाल १ अर्ब १२ करोडभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता छन् । छोटा भिडिओको लागि यो संसारकै सबैभन्दा लोकप्रिय प्लेटफर्म बनेको छ । अमेरिकामा मात्र ११ करोड ८० लाखभन्दा धेरै मानिसले दैनिक औसत एक घण्टा ४८ मिनेट समय टिकटकमा बिताउँछन् । प्रयोगकर्ताको बानी र ध्यान टिकटकमा यति गहिरोसँग जोडिएको छ कि धेरै युवाहरू दिनभर स्क्रोलमै गर्नमै व्यस्त हुन्छन् ।

अलि बेर पर्खनु पर्ने, लामो कथा बुझ्नुपर्ने परम्परागत किसिमका माध्यमको तुलनामा मानिसहरूले छोटो भिडि‌ओलाई निकै फरक रूपमा लिन्छन् । छोटो भिडिओले प्रयोगकर्ताको ध्यान छोटो समयमै खिच्ने भएकाले यो निकै लत लाग्दो हुन्छ । यसले मनोरञ्जन, शिक्षा र ट्रेन्डहरू मिश्रित रूपमा प्रदान गर्दछ । जसले प्रयोगकर्तालाई घण्टौँसम्म व्यस्त राख्छ । परम्परागत मनोरञ्जन माध्यम जस्तै टिभी वा रेडिओ नाटकहरूले पूरा अवधि दर्शकको ध्यान खिच्न खोज्थे । तर छोटो भिडिओको उद्देश्य केही सेकेन्ड वा मिनेटको लागि मात्रै ध्यान खिच्नु हो र त्यसपछि रुचि अनुसारको अर्को भिडिओमा लैजानु हो ।

यो झट्ट हेर्ने, छिटो मनोरञ्जन दिने र अत्यन्त व्यक्तिगत तवरको अनुभव प्रदान गर्ने खालको हुन्छ । यसै कारण यस्ता भिडिओ नशाजस्तै लत लाग्ने कारण बनेका छन् ।

टिकटकको सफलता र यसको शक्तिशाली एल्गोरिदमले यति ठुलो प्रभाव पारेको छ कि युट्युब, इन्स्टाग्राम, फेसबुक र लिङ्क्डइन जस्ता प्लेटफर्महरू पनि यसको नक्कल गर्दैछन् । जसका उदाहरण हुन्, शर्ट्स, रिल्स र छोटो भिडिओ देखिने फिड ।

एल्गोरिदम

टिकटकको शक्तिको प्रमुख आधार भनेकै यसको एल्गोरिदम हो । जुन प्रयोगकर्ताको रुचि अनुसार सामग्री सिफारिस गर्न निकै सक्षम छ ।

टिकटकले सुरुमा छोटो भिडिओमा ध्यान केन्द्रित गर‍ेको थियो जबकि अरू धेरैले यसमा खासै चासो दिएका थिएनन् । पहिले ट्वीटरको भाइन (Vine) भन्ने छोटो भिडिओ प्लेटफर्म थियो । तर कुनै कारणले गर्दा कम्पनीले त्यसलाई निरन्तरता दिएन । जसले गर्दा टिकटकका लागि बजार खाली भयो र उसले यसको फाइदा उठायो ।

टिकटकको एल्गोरिदमले प्रयोगकर्ताको रुचि राम्रोसँग बुझ्ने र सोही अनुसार सामग्री देखाउने भएकाले यो अरूका लागि नक्कल गर्न गाह्रो भएको छ । प्रयोगकर्ताहरू ठान्छन्, “टिकटक मलाई के चाहिएको छ भन्ने कुरा म आफैँलेभन्दा राम्रोसँग जान्दछ ।” यो व्यवहारले विशेष गरी किशोर-किशोरीहरूको ध्यान दिने क्षमतामा असर गरिरहेको विभिन्न अध्ययनले देखाएका छन् ।

छोटो भिडिओहरू निरन्तर स्क्रोल गर्न मिल्ने ‘अनन्त स्क्रोलिङ’ सुविधासहित आउने हुँदा प्रयोगकर्ताको समय अनायासै बित्छ । यसले ध्यानको अवधि (attention span) घटाउँछ । साथै, यसले मानसिक स्वास्थ्यमा तनाव पनि बढाउन सक्छ । रातमा स्क्रिन हेर्दा निद्रामा समस्या आउन सक्छ किनकि । त्यसको ब्लु लाइट (निलो प्रकाश)ले दिमागलाई जागा रहन प्रेरित गरिरहन्छ । धेरै समय स्क्रिनमा बिताउँदा निद्रा, बाहिर समय बिताउने वा साथीभाई र परिवारसँग प्रत्यक्ष भेटघाट जस्ता मानसिक स्वास्थ्यका लागि फाइदाजनक मानिने गतिविधिहरूमा बाधा पुग्न सक्छ । टिकटकसँग हुर्किएको पहिलो पुस्ता, जेन जी (Gen Z), मा परिवर्तनका लक्षण देखिन थालेका छन् । धेरैले लामो भिडिओ १.५ वा २ गुणा स्पिडमा हेर्ने गरेका हुन्छन् र परम्परागत फर्म्याटमा बस्न गाह्रो मान्छन् । कसै-कसैले त टिकटकले सबैको ध्यान अवधि बर्बाद गरेको पनि बताएका छन् ।

प्रतिस्पर्धा

टिकटकको यो सफलता देखेर अन्य सामाजिक सञ्जालहरू पनि छोटो भिडिओको दौडमा सामेल भएका छन् । मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले अगस्ट २०२० मा रिल्स ल्यायो । गुगलको स्वामित्वमा रहेको युट्युबले भारतमा टिकटकमाथि प्रतिबन्ध लागेपछि सेप्टेम्बर २०२० मा शर्ट्स ल्यायो । फेसबुकले पनि सोही वर्ष रिल्सको आफ्नै संस्करण ल्यायो । व्यावसायिक सञ्जाल लिंक्डइन पनि २०२४ देखि छोटो भिडिओको लोकप्रियतालाई उपयोग गर्न थालेको छ ।

मेटाका अनुसार फेसबुक र इन्स्टाग्राममा बिताइने कूल समयको ६०% भन्दा बढी भिडिओमा खर्च हुन्छ । इन्स्टाग्राममा मात्रै प्रयोगकर्ताले बिताउने कूल समयको ५०% हिस्सा रिल्सले ओगटेको छ । यसमा दैनिक ४.५ अर्ब पटक भन्दा बढी शेयर गरिन्छ । क्रियटरहरूलाई आकर्षित गर्न इन्स्टाग्रामले ३ मिनेटसम्मका रिल्स र थप एडिटिङ टुल लगायतका नयाँ फिचरहरू थपेको छ । मेटाको लक्ष्य छोटो भिडिओको बजारमा टिकटकलाई टक्कर दिनु हो ।

तर टिकटक यो मामिलामा निकै अगाडि छ । प्लेटफर्ममा अहिले 'टिकटक शप', लामा भिडिओ, एनालिटिक्स जस्ता सुविधाहरू थपिएका छन् । जसले गर्दा यो अझ व्यापक बनिरहेको छ ।

तर आम्दानी भने चुनौतीपूर्ण

यति धेरै प्रयोगकर्ता संलग्न भए पनि छोटो भिडिओबाट आम्दानी गर्न भने सजिलो छैन । धेरै इङ्गेजमेन्ट भए पनि छोटो भिडिओबाट पैसा कमाउन क्रिएटरहरूका लागि अझै पनि गाह्रो छ । लामो भिडिओमा प्लेटफर्महरूले धेरै विज्ञापनहरू राख्न सक्छन्, तर छोटो भिडिओमा विज्ञापनको लागि सीमित ठाउँ हुन्छ । यसको मतलब प्रति भ्युज आम्दानी कम हुन्छ । छोटो भिडिओका विज्ञापनहरू प्रायः भिडिओको बीचमा राखिन्छ, जसलाई प्रयोगकर्ताहरूले सजिलै स्किप गर्न सक्छन् । यसै कारणले पनि सामाजिक सञ्जाल प्लेटफर्महरूले विज्ञापनका लागि लामो भिडिओलाई प्राथमिकता दिइरहेको पाइन्छ ।

युट्युब र स्न्यापच्याट (Snapchat) बाहेक धेरैजसो प्लेटफर्महरूले छोटो भिडिओबाट हुने विज्ञापन आम्दानी क्रियटरहरूलाई वितरण गर्दैनन् । । टिकटकले सन् २०२४ मा विज्ञापनबाट २३.६ अर्ब डलर कमाएको थियो । तर अधिकांश क्रियटरहरूले मिलियन भ्युजमा केही डलर मात्र पाए । युट्युबले छोटो भिडिओलाई विज्ञापनको आम्दानी बाँडफाँट गर्ने गरेको भए पनि क्रियटरले १००० भ्युजमा करिब ०.०४ अमेरिकी डलर मात्रै कमाउँछन् । जुन लामो भिडिओले कमाउने भन्दा धेरै कम हो । क्रियटरहरू यसबाट निकै निराश बनिरहेका छन् । यसै कारण क्रियटरहरू अब ब्रान्ड डिल, ईकमर्स, सब्स्क्रिप्सन कन्टेन्ट लगायतका अन्य स्वरूपमा आम्दानीका स्रोतहरू खोजीरहेका छन् ।

अबको भविष्य

छोटा भिडिओले सामाजिक सञ्जाललाई झन् व्यस्त, झन् व्यक्तिगत र झन् तीव्र बनाएको छ । तर यसले ध्यान केन्द्रित गर्ने पाटोलाई कमजोर बनाउनुका साथै मानसिक स्वास्थ्यमा असर पुर्‍याउने जोखिम पनि बोकेको छ ।

अब प्रश्न उठ्छ - छोटा भिडिओले हामीलाई स्मार्ट बनाइरहेका छन् कि केवल छिटो मनोरञ्जनको लागि हाम्रो धैर्यता र सोच्ने क्षमतामा चोट पुर्‍याइरहेका छन् त ? कानुन निर्माताहरूको बढ्दो निगरानी र एल्गोरिदममा परिवर्तनका कारण छोटो भिडिओको भविष्य अझै अनिश्चित छ । प्लेटफर्महरू ई-कमर्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट सञ्चालित सिफारिसहरूमा निर्भर छन् ताकि बजारमा अगाडि रहन सकियोस् ।

छोटो भिडिओले संलग्नता (engagement) बढाए पनि र ध्यान अवधि घटाए पनि, एउटा प्रश्न बाँकी छ: के छोटो भिडिओले सामाजिक सञ्जाललाई साँच्चै विकसित गरिरहेको छ वा राम्रो वा नराम्रोका लागि हामीले सामग्री उपभोग गर्ने तरिकालाई मात्र परिवर्तन गरिरहेको छ? एउटा कुरा के निश्चित छ भने यो ट्रेन्ड यहीँबाट अन्त्य हुने वा पहिलेकै जस्तो लामा भिडिओ फर्म्याटमा फर्किन गाह्रो छ । सामाजिक सञ्जालको भविष्य नै छोटो, छिटो र अत्यधिक व्यक्तिगत ढङ्गले अगाडि बढिरहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८२ १४:६