काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडमार्फत प्रवर्द्धित नेसनल पेमेन्ट स्विचमा एनआईबीएल एस क्यपिटल लिमिटेड आबद्ध भएको छ । विद्युतीय भुक्तानी प्रणालीलाई थप व्यापक र सुरक्षित बनाउने उद्देश्यका साथ यी दुई संस्थाबीच हालै सम्झौता भएको हो ।
उक्त सम्झौतापछि एनआईबीएल एस क्यापिटलका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी विभिन्न भुक्तानी तथा लगानी प्राप्त गर्ने कारोबारहरू गर्न सकिने जनाइएकाे छ ।
साथै क्यापिटलका डिभिडेन्ड भुक्तानी लगायत तलब, भेण्डर भुक्तानी, लगायतका विभिन्न प्रकारका भुक्तानीसम्बन्धी कारोबारहरू आफ्ना तथा लाभग्राहीका बैंक खाताबीच सोझै गर्न सकिनेछ ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् । त्यस्तै १५ बीमा कम्पनीहरूका साथै अन्य पीएसपी/पीएसओ, रेमिट्यान्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरू गरी ९० भन्दा बढी गैरबैंकिङ संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।