close

४० करोड पुरस्कार राशि भएको पब्जी प्रतियोगिता खेल्दै नेपाली टिम ‘डीआरएस गेमिङ’

टेकपाना टेकपाना

जेठ १८, २०८० १२:२४

४० करोड पुरस्कार राशि भएको पब्जी प्रतियोगिता खेल्दै नेपाली टिम ‘डीआरएस गेमिङ’

काठमाडौं । नेपाली पब्जी टिम ‘डीआरएस गेमिङ’ले करिब ४० करोड नेपाली रुपैँया पुरस्कार राशि भएको प्रतियोगिता पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल (पीएमडब्लूआई) खेल्ने भएको छ । साउदी अरेबियाको रियादमा १४ जुलाईदेखि १६ जुलाईसम्म चल्ने प्रतियोगितामा ‘डीआरएस गेमिङ’ खेल्ने पक्का भएको हो ।

२६ मेदेखि ३० मेसम्म चलेको ‘पीएमडब्लूआई अलस्टार्स भोट इभेन्ट’ अन्तर्गत दक्षिण एसियाली क्षेत्रमा सबैभन्दा धेरै भोट पाएर डीआरएस यो प्रतियोगिताको लागि छनोट भएको हो । भोटिङमा डीआरएससहित अन्य नेपाली टिम ‘स्काइलाइट गेमिङ’, ‘ट्रेन टु किल’,  ‘हाइभोल्टेज ई-स्पोर्ट्स’, ‘इलुमिनेट क्रु’, ‘लियो ई-स्पोर्टस्’, ‘इलिमेन्ट्रिक्स’, ‘डेडआइज गाइज’ र ‘एएसएल’ पनि रहेका थिए ।

सँगसँगै मङ्गोलिया तथा बङ्गलादेशका टिमहरु पनि भोटिङमा समावेश थिए । त्यसमध्ये ‘डीआरएस गेमिङ’ले करिब एक लाख ९७ हजार भोट पाएको हो । भोटिङमा डीआरएसभन्दा पछाडि रहेको टिम ‘एनबी ई-स्पोर्ट्स’ले करिब ८२ हजार भोट ल्याएको थियो ।

त्यस्तै भोटिङमा तेस्रो स्थानमा रहेको ‘स्काइलाइट गेमिङ’को करिब २८ भोट रहेको छ । ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया च्याम्पियनशिप प्रिङ २०२३’ जितेसँगै दक्षिण एसिया क्षेत्र अर्को टिम ‘स्टलवार्ट ई-स्पोर्ट्स’ले पनि यो प्रतियोगिता खेल्ने पक्का भएको छ ।

यो प्रतियोगितामा विश्वभरका सबै क्षेत्रको प्रतिनिधित्व गर्दै कुल १६ टिमले खेल्ने जनाइएकाे छ ।



 

पछिल्लो अध्यावधिक: जेठ १८, २०८० १२:२४