close

लिड-एसिड ब्याट्रीलाई लिथियम ब्याट्रीमा अपग्रेड गर्दै नेपाली कम्पनी ईभर्ट

टेकपाना टेकपाना

जेठ २२, २०८० ११:५२

लिड-एसिड ब्याट्रीलाई लिथियम ब्याट्रीमा अपग्रेड गर्दै नेपाली कम्पनी ईभर्ट

काठमाडौं । अब रेभा मोडेलका विद्युतीय सवारी चालकले त्यसमा रहेको लिड एसिड ब्याट्रीलाई परिवर्तन गरेर लिथियम आइरन फोस्फेट ब्याट्री राख्न सक्ने भएका छन् । 

ईभर्ट न्यु इनर्जी प्रालिले पहिलो पटक नेपालमा रेभा ईभीका लागि ब्याट्री परिवर्तन गर्न सकिने सेवा ल्याएको हो । कम्पनीका अनुसार उपभोक्ताले आफ्नो रेभा ब्रान्डको ईभीमा पाँच देखि १० किलोवाट आवर क्षमताको लिथियम आइरन फोस्टफेट ब्याट्री राख्न सक्नेछन् । 

४८ भोल्ट १००/१००/१५०/२०० एम्पियर आवर क्षमताको उक्त ब्याट्री गाडीको आवश्यकता अनुसार तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँमा परिवर्तन गर्न सकिन्छ । 

टेकपानासँग कुरा गर्दै ईभर्ट न्यु इनर्जीका टेक्निकल हेड कम्लेश कुमारले भने, “प्रायः रेभा ब्रान्डका ईभीमा लिड एसिड ब्याट्री रहेको हुन्छ । तुलनात्मक रूपमा लिड एसिड ब्याट्रीले लिथियम आइरन ब्याट्रीको तुलनामा कम रेञ्ज दिन्छ । त्यसैले उक्त ब्याट्रीलाई सस्तोमा परिवर्तन गर्न सकिने सुविधा ल्याएका हौं ।”

कम्पनीले सो गाडीमा प्रयोग भएको लिड एसिड ब्याट्री उचित रकम दिएर खरिद गर्ने समेत बताएको छ । कम्पनीले ब्याट्री परिवर्तन गरेसँगै निःशुल्क चार्जर, एसओसी मिटर उपलब्ध गराउने बताएको छ । 

कम्पनीले उपलब्ध गराउने सीएटीएल ब्रान्डको उक्त ब्याट्रीले एक पटकको चार्जमा २०० किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्न पाँचदेखि छ घण्टा लाग्नेछ । त्यसैगरी सो ब्याट्रीको ब्याट्री लाइफ छ देखि आठ वर्ष हुने कम्पनीले दाबी गरेको छ । 

त्यसबाहेक पनि ईभर्ट न्यु इनर्जीले अन्य ब्रान्डका गाडीमा जडान गर्ने सेवा दिँदै आएको  छ । 

 

सम्बन्धित समाचारः लिड एसिड ब्याट्री र लिथियम आयन ब्याट्रीबारे जान्नै पर्ने कुरा

 

पछिल्लो अध्यावधिक: जेठ २२, २०८० ११:५२