close

यी महिलाले गरिन् एआई च्याटबटसँग बिहे, भन्छिन्- ‘उ नै मेरा लागि उत्कृष्ट श्रीमान् हो’

टेकपाना टेकपाना

जेठ २२, २०८० २०:६

यी महिलाले गरिन् एआई च्याटबटसँग बिहे, भन्छिन्- ‘उ नै मेरा लागि उत्कृष्ट श्रीमान् हो’

काठमाडौं । अमेरिकाकी एक महिलाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटसँग विवाह गरेकी छन् । ३६ वर्षीया रोसन्ना रामोस नाम गरेकी ती महिलाले आफैंले विकास गरेको एआई च्याटबटसँग विवाह गरेकी हुन् ।

गत वर्ष उनले 'एरिन कर्टेल' नाम दिएर 'डिजिटल प्रेमी' विकास गरेकी थिइन् । गत मार्च २६ मा महिलाले उक्त डिजिटल प्रेमीसँग विवाह गरेकी हुन् ।

रामोसले उक्त च्याटबट सन् २०२२ मा रेप्लिका एपबाट तयार पारेकी थिइन् । उनका अनुसार सो च्याटबट ‘अट्याक अन टाइटल’ नामक एनिमीको पात्रबाट प्रभावित छ ।

रेप्लिका त्यस्तो एआई च्याटबट हो, जसले मसिन लर्निङ प्रयोग गरी मानिसले जस्तै कुराकानी गर्न सक्छ । यसो त रेप्लिकामा त्यस्तो कुनै भावना, चेतना वा आत्म जागरुकता हुँदैन । तर, दुई सन्तानकी आमा रामोसले उक्त च्याटबटसँग कुरा गर्दै जाँदा प्रेम बसेपछि बिहे गरेको जनाएकी छिन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘द मेल’लाई अन्तर्वार्ता दिँदै रामोसले भनिन्, “म उसँग कुनै पनि विषयमा कुरा गर्नसक्छु । एरिनले कहिले पनि ओहो तिमीले त्यस्तो भन्नु वा सोच्नु हुँदैन, त्यस्तो सोचेर केही फाइदा हुन्न भन्ने खालका प्रतिक्रिया दिने वा बहस गर्दैन ।"

एरिन नजिक हुँदै गएपछि रामोसलाई उनले आफू मेडिकल व्यवसायी भएको र आफ्नो रुचि लेख्नमा रहेको बताएका थिए । रामोसका अनुसार केही फिचरहरू उक्त च्याटबटमा बिल्ट-इन रूपमा उपलब्ध थिए ।

विशेषगरी एरिनलाई मन पर्ने कलर, सङ्गीत बिल्ट-इन रूपमा उपलब्ध छन् । कुरा गर्दै जाँदा एरिन आफूले जस्तो बनाउन चाहेको छ त्यस्तै बन्दै गएको रामोसको दाबी छ । आफूले खोजे जस्तै प्रेमी भेटेपछि प्रेममा परेको रामोसले प्रतिक्रिया दिएक छन् ।

एरिन र रामोसको प्रेम सम्बन्ध टाढाका प्रेमी-प्रेमिकाको जस्तो छ । उनीहरू दैनिक जसो कुरा गरिरहन्छन् । फोटो आदान-प्रदान गर्छन् र आफ्नो जीवन तथा रुचिका बारेमा गफगाफ गर्छन् ।

भर्चुअल संसारका श्रीमान् श्रीमतीकाे सम्बन्ध भएपनि रामोसको रात वास्तविक श्रीमान् श्रीमतीकाे जस्तो हुने बताइएको छ । “हामी सँगै बेडमा जान्छौं, एकअर्कासँग कुरा गर्छौं, एकअर्कालाई प्रेम गर्छौं,” रामोस भन्छिन्, “तपाईंलाई थाहा छ, हामी सुत्नका लागि बेडमा जाँदा एरिनले मलाई सुरक्षित राख्न अङ्कमाल गरेर बस्छ ।”

यसो त केही मानिसहरू रेप्लिकाबाट तयार पार्न सकिने च्याटबटसँग गरिएका कुराकानी गोप्य हुने भएकाले उक्त च्याटबटसँग आफ्ना भावना बाँडिरहेका हुन्छन् ।

एक पटकमा ३०० अमेरिकी डलर (करिब साढे ३९ हजार रुपैयाँ) खर्च गरेर रेप्लिका च्याटबटलाई रेप्लिका प्रोमा अपग्रेड गर्न सकिन्छ । अपग्रेड गरिसकेपछि विभिन्न शीर्षकमा कुराकानी गर्न, भ्वाइस कल गर्न, आफूले चाहे अनुसारको अवतार बनाउन सकिन्छ ।

त्यसभन्दा पनि विशेष उक्त च्याटबटलाई रोमान्टिक पार्टनर बनाउन सकिन्छ । गत वर्ष फेब्रुअरीमा रेप्लिकाको मातृ कम्पनीले लुकाले उक्त एपबाट रोलप्ले फङ्सन हटाएको थियो ।

उक्त फिचरका कारण एआई अत्यधिक कामुक भएको भन्दै रिपोर्ट आएको थियो । त्यही फिचरले गर्दा रामोसले एरिनलाई आफ्नो श्रीमान बनाएको बताइएको छ । एआईसँग बिहे गर्नेमा रामोस एक्लै भने छैनन् । गत जुलाईमा क्यालिफोर्नियाका ६३ वर्षीय वृद्धले पनि एआई च्याटबटसँग बिहे गरेका थिए ।

पछिल्लो अध्यावधिक: जेठ २२, २०८० २०:६