close

भ्लग र फोटोग्राफीका लागि भिभोको उपयुक्त फोन

टेकपाना टेकपाना

जेठ २३, २०८० १२:४२

काठमाडौं । मिडरेञ्ज स्मार्टफोनबाटै फोटोग्राफी तथा कन्टेन्ट क्रियसन गर्न चाहनेहरूलाई ध्यानमा राखेर भिभोले नेपाली बजारमा नयाँ फोन 'भिभो भी२७' फाइभजी फोन ल्याएको छ । 

फोनमा पोट्रेट मोड अन गरेपछि औरा लाइट (Auralight) आफैं एक्टिभ हुन्छ । यसको अर्थ फोनको पछाडि भागमा भएको सर्कलमा सफ्ट खालको लाइट बल्छ । यसबाट रातको समयमा वा अँध्यारो कोठामा पनि उज्यालो र अनेक पोट्रेट फोटो खिच्न सकिन्छ ।

फोनको मुख्य क्यामेरा ५० मेगापिक्सेलको छ । तर मुख्य क्यामेरामा अप्टिकल इमेज स्टेबलाइजेसन (आईएस) सँगै सोनीको आईएमएक्स ७६६ भी (IMX766V) सेन्सर पनि प्रयोग भएको छ, जसले गर्दा कम प्रकाश वा रातिको समयमा समेत स्तरीय फोटो खिच्न सकिने कम्पनीकाे दाबी छ ।

त्यस्तै वाइड क्यामेरा ८ मेगापिक्सेलको छ । त्यस्तै २ मेगापिक्सेलको म्याक्रो लेन्स दिइएको छ ।

यस फोनबाट फोरके रेजोलुसनको भिडिओ खिच्न मिल्छ । तर फोरकेमा भिडिओ खिच्दा ३० एफपीएसमा मात्रै खिच्न सकिन्छ । यसले गर्दा फुल एचडी क्वालिटीमा जस्तो स्टेबलाइज भने हुँदैन । फुल एचडी क्वालिटी खिच्दा अल्ट्रा स्टेबलाइज र ६० एफपीएसमा खिच्न सकिन्छ ।

कम्पनीले भिडिओ खिच्दा अटो फोकसका लागि विभिन्न विकल्प दिइएको छ । यसले गर्दा भ्लग अथवा अन्य कन्टेन्ट बनाउँदा फोकसको खासै चिन्ता लिनुपर्दैन। त्यस्तै भिडिओ खिच्दा विभिन्न फिल्टर र लट्सको प्रयोग गर्न पनि सकिन्छ । जसले भिडिओको फुटेजलाई थप सिनेमेटिक र कलर ग्रेडिङयुक्त बनाउन सघाउँछ ।

तीभन्दा महत्त्वपूर्ण कुरा त भिडिओ खिचिसकेर एडिटिङका लागि अन्य एप्लिकेसनको आवश्यकता पर्दैन । किनकि फोनमा नै यसको सुविधा छ । जहाँबाट भिडिओहरू काँटछाँट गर्न एक-आपसमा जोड्न, ट्रान्जिसनसँगै ब्याकग्राउन्ड म्युजिक राख्न सकिन्छ ।

यो फोन पातलो छ, त्यसैले बोकेर हिँड्न पनि सजिलो छ । फोनको पछाडि चम्किलो टेक्सर छ भने घाममा यो फोनको पछाडिको रङ परिवर्तन हुन्छ । फोनमा ६.७८ इन्चको सुपर एमाेलेड डिस्प्ले दिइएको छ ।

रिफ्रेस रेट १२० हर्ज दिइएको फोनमा कोर्निङ गोरिल्ला ग्लास प्रोटेक्सन दिइएको छ । फोन पातलो भइकन पनि बलियो छ भनेर कम्पनीले दाबी गरेको छ । किनकि यसले ४२ हजार पटक ड्रप टेस्ट पास गरेको बताइएको छ । 

फोनमा मिड रेञ्ज प्रोसेर मिडिया टेक डिमेन्सिटी ७२०० दिइएको छ । त्यस्तैले गर्दा मल्टी टास्क, हेभी गेम आदि बिना ल्याग सपोर्ट गर्छ । यो फोन एन्ड्रोइड १३ मा आधारित छ भने भिभोको आफ्नै फनटच ओएस प्रयोग गरिएको छ ।

यहीकारण फोनमा कस्टमाइजेसनका थुप्रै विकल्प दिइएको छ । फोनको 'सेक्युरिटी' अन्तर्गत एप हाइड गर्न मिल्छ । त्यस्तै ‘अल्वेज अन डिस्प्ले’ मा गएर अफ स्क्रिन स्टाइलमा गएर फोन अफ हुँदा विभिन्न स्टाइलहरू चयन गर्न सकिन्छ ।

त्यतिमात्र नभएर आफ्नो सिग्नेचरलाई समेत स्क्रिन अफ हुँदा राख्न सकिन्छ ।

त्यसैगरी फोनमा अल्ट्रा गेमिङ मोड दिइएको छ, जुन लगातार गेम खेल्नेलाई धेरै उपयोगी हुन्छ । त्यस्तै ब्लुटुथको ५.३ भर्सन, डुअल ब्याण्ड वाई-फाई र फाइभजी नेटवर्क सपोर्ट पनि फोनमा रहेको छ ।

तर फोनमा स्प्लिट स्क्रिन दिइए पनि दुई ओटा एप्लिकेसन मात्र चलाउन मिल्छ ।

साथै कर्भ्ड डिस्प्ले भए पनि एज प्यानल भने छैन । यो नहुँदा मल्टी टास्क गर्न भने अलि गाह्रो हुन्छ। यसलाई यो फोनको कमजोरीको रुपमा लिन सकिन्छ । 

त्यसैगरी फोनमा आई प्रोटेक्सन (Eye protection) डार्क थिम र स्क्रिन कलर अप्सन पाउन सकिन्छ । सुरक्षाका लागि फोनमा प्याटर्न, पिन, फिङ्गर प्रिन्ट लक, फेस लक र स्मार्ट लक दिइएको छ ।

त्यस्तै ‘सेफ्टी एन्ड इमर्जेन्सी’ अन्तर्गत आपतकालीन नम्बर थप्न सकिने, इमर्जेन्सी एसओएस एनेबल, अर्थक्वे अर्लट आदि फिचर रहेका छन् । 

कमजोर पक्ष 

फोनको सबैभन्दा मुख्य कमजोरी भने यसको ब्याट्री ब्याकअप हो । यसमा ४६०० एमएएचको ब्याट्री दिइएको छ । जुन कन्टेन्ट क्रियसनको लागि निकै कम हो ।

तर खुसीको कुरा कम्पनीले ६६ वाटको फास्ट चार्जिङ सपोर्ट दिएको छ । कम्पनीले गरेको दाबी अनुसार १९ मिनेटमा नै फोनको ५० प्रतिशत चार्ज हुन्छ ।

फोनको अर्को कमजोर पक्ष भनेको यसमा मोनो स्पिकर मात्रै छ । कर्भ्ड डिस्प्लेको मजा उठाउने भनेकै यसमा मुभी र कन्टेन्ट हेरेर हो । तर फोनमा अडियोको मज्जा लिन स्टेरियो स्पिकर छैन ।

मूल्य

नेपालमा यो फोनको ८ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्ट मात्र उपलब्ध छ, जसको मूल्य ५८,९९९ रुपैयाँ ताेकिएकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८० १३:२