close

मेस्सीलाई इन्टर मियामीमा अनुबन्ध गर्न एप्पलको मुख्य भूमिका

टेकपाना टेकपाना

जेठ २५, २०८० ११:२७

मेस्सीलाई इन्टर मियामीमा अनुबन्ध गर्न एप्पलको मुख्य भूमिका

काठमाडौं । अर्जेन्टिनी फुटबलर लिओनेल मेस्सी इन्टर मियामी क्लबमा अनुबन्ध हुने भएका छन् । साउदी अरेबियाली फुटबल क्लब अल-हिलालमा अनुबन्ध हुने विषय चलिरहँदा मेस्सीले आफू इन्टर मियामी क्लबमा आवद्ध हुन लागेको घोषणा गरेका छन् ।

डेभिड बेकह्यामको स्वामित्वमा आंशिक स्वामित्व रहेकाे सो क्लबमा मेस्सी अनुबन्ध हुनुमा एप्पलको मुख्य भूमिका देखिएको छ । एप्पलले मेस्सीसँगको सम्बन्धमार्फत प्रायोजन साझेदारी प्रोत्साहन प्रस्ताव गरेको छ ।

मेस्सी अनुबन्ध हुन लागेको क्लब अमेरिकी फुटबल लिग एमएलएस (मेजर लिग सकर) लिगमा सन् २०२० बाट सहभागी हुँदै आएको छ । त्यस्तै सन् २०२२ मा एप्पलले एमएलएसको लाइभस्ट्रिम अधिकार १० वर्षका लागि खरिद गरेको थियो । यसको अर्थ हरेक सिजनमा हुने ३४ ओटा खेल एप्पल टिभीबाट स्ट्रिम हुनेछन् ।

मेस्सीले इन्टर मियामीबाट खेल्ने भएपछि मेस्सीका खेल एप्पल टिभीबाट हेर्न सकिने छ । एपमा भएको एमएलएस स्ट्रिमिङ सर्भिसमा गएर मेस्सीले इन्टर मियामीबाट खेलेको खेल लाइभ हेर्न सकिने बताइएको छ ।

यसअघि कमै चर्चामा आएको एमएलएस लिग मेस्सीको आगमनपछि चर्चामा आएको छ । मंगलबार एप्पलले एप्पल टिभी प्लसमा मेस्सीका चार ओटा डकुमेन्ट्री र एक्स्क्लुसिभ बिहाइन्ड दि सिन देखाउने घोषणा गरेको छ । इन्टर मियामीमा आवद्ध भएसँगै मेस्सीले एप्पल/एमएलएस ब्रोडकास्ट पार्टनरशिप पाउने बताइएको छ ।

अर्थात् एप्पल टिभी प्लस र एमएलएस सिजन पासबाट आम्दानी हुने रकमबाट मेस्सीले प्रोफिट शेयर पाउनेछन् । मेस्सी यही विशेषताले लोभिएर इन्टर मियामीमा आवद्ध भएको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

एमएलएसको मुख्य प्रायोजक एडिडासले समेत इन्टर मियामीमा मेस्सीको आगमनबाट भएको नाफा बाँड्ने घाेषणा गरेकाे छ । साथै मेस्सीले सन्यास लिएपछि इन्टर मियामीमा हिस्सेदारी खरिद गर्ने अवसर पाउने गरी सम्झौता भएको खबर बाहिरिएको छ ।

गत शनिबार फ्रेन्च लिग वनको खेल सकिएसँगै पेरिस सेन्ट जर्मन (पीएसजी)सँग मेस्सीको सम्झौता सकिएको थियो । साउदी अरबी क्लब अल-हिलालमा मोटो रकम लिएर आवद्ध हुने खबर आइरहेको बेला मेस्सीले एकाएक इन्टर मियामी राेजेका हुन् ।

पछिल्लो अध्यावधिक: जेठ २५, २०८० १२:३१