close

श्रीमान्‌की प्रेमिकाको अश्लील भिडिओ उनकी भाउजूलाई पठाउँदा श्रीमतीमाथि साइबर अपराधको मुद्दा

टेकपाना टेकपाना

जेठ २६, २०८० १७:३४

श्रीमान्‌की प्रेमिकाको अश्लील भिडिओ उनकी भाउजूलाई पठाउँदा श्रीमतीमाथि साइबर अपराधको मुद्दा

काठमाडौं । आफ्नो श्रीमान्‌को मोबाइलमा फेला परेको उनकी गर्ल्डफ्रेन्ड (प्रेमिका) का अश्लील फोटो तथा भिडिओ युवतीकी भाउजूलाई पठाउँदा एक महिलामाथि साइबर अपराधको मुद्दा लागेको छ । स्याङ्जा जिल्ला भिरकोट नगरपालिका-३ घर भएकी ४२ वर्षीया ज्ञानू थापा यस्तो समस्यामा परेकी हुन् ।

थापा हाल पुतलीबजार नगरपालिका-१३ गिजिन डाँडा बस्दै आएकी थिइन् । नेपाल प्रहरीको साइबर ब्यूरोमा दर्ता भएको उजुरी अनुसार थापाका श्रीमान्‌‌ले पीडित भनिएकी युवतीलाई एक दिन सामाजिक सञ्जालमा फ्रन्ड रिक्वेस्ट पठाएका थिए ।

उक्त रिक्वेस्ट स्वीकार गरेपछि दुवै जनाबीच मेसेञ्जरमा कुराकानी हुन थाल्यो । समयसँगै ज्ञानूका श्रीमान् र पीडित भनिएकी युवतीले एक-अर्कालाई मन पराउन थाले र दुवैबीच प्रेम सम्बन्ध सुरु भयो ।

त्यस क्रममा उनीहरूबीच अन्तरङ्ग तथा अश्लील फोटो तथा भिडिओ समेत साटासाट भए । पुरुष विवाहित रहेको थाहा पाएपछि आफूले ती व्यक्तिसँग सम्वाद टुटाएको पीडित भनिएकी युवतीले बताएकी छन् ।

तर ज्ञानूले आफ्ना श्रीमान्‌को मोबाइलमा ती युवतीका अश्लील तथा अन्तरङ्ग फोटो र भिडिओ फेला पारिन् । आफ्ना श्रीमान्‌सँगको प्रेम सम्बन्ध टुटाउने प्रयासमा ज्ञानूले अश्लील फोटो र भिडिओ युवतीकी भाउजूलाई पठाइन् ।

तर पीडित भनिएकी युवतीले उल्टै आफ्ना अश्लील फोटो तथा भिडिओमा अनधिकृत पहुँच बनाई कसैले आफ्नी भाउजूलाई पठाएको भन्दै साइबर ब्यूरोमा उजुरी दिइन् ।

"उक्त फोटो, भिडिओ र तस्वीरहरूमा कोही कसैले अनधिकृत पहुँच बनाई मेरो भाउजूको मेसेञ्जरमा पठाई दुःख, हैरानी दिई चरित्रहत्या गरेकोले उक्त कार्यमा संलग्न व्यक्ति पत्ता लगाई कानून बमोजिम कारबाहीका गरी पाऊँ," ब्यूरोमा दर्ता भएको उजुरीमा भनिएको छ ।

निवेदन प्राप्त भएपछि ब्यूरोको प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट उक्त कार्यमा ज्ञानू थापाको संलग्नता खुल्न आएको ब्यूरोले जनाएको छ । उनी विरुद्ध विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइएको थियो ।

सोही आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सहयोगमा ब्यूरोले बुधबार स्याङ्जाबाट थापालाई पक्राउ गरेको हो । बिहीबार सात दिन म्याद थप गरी उनीमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: जेठ २६, २०८० १७:३५