close

भावुक सन्देश लेख्दै काजोलले लिइन् सामाजिक सञ्जालबाट विश्राम

टेकपाना टेकपाना

जेठ २६, २०८० १८:१०

भावुक सन्देश लेख्दै काजोलले लिइन् सामाजिक सञ्जालबाट विश्राम

काठमाडौं । चर्चित भारतीय अभिनेत्री काजोलले सामाजिक सञ्जालबाट विश्राम लिएकी छन् । आफ्नो सामाजिक सञ्जाल ह्यान्डलहरूमा एक नयाँ पोस्ट गर्दै उनले आफ्ना फ्यानहरूका लागि एउटा भावुक सन्देश छोडेकी छन्, “म आफ्नो जिन्दगीको सबैभन्दा मुस्किल अवस्थाबाट गुज्रिरहेकी छु ।”

आखिर काजोलको जिन्दगीमा त्यस्तो के अप्ठ्यारो समय आयो, ताकि उनलाई सबै सामाजिक सञ्जालबाट विश्राम लिनुपर्‍याे ? काजोलको यो पोस्टसँगै उनका फ्यानहरूलाई यसले निकै चिन्तित तुल्याएको छ ।

काजोलको यस किसिमको पोस्ट शुक्रबार बिहान करिब ११ बजेतिर आएको थियो, जसमा उनले सामाजिक सञ्जालबाट एउटा विश्राम लिन चाहेको कुरासमेत उल्लेख गरेकी छन् ।

सामाजिक सञ्जालमा निकै सक्रिय देखिने काजोलको इन्स्टाग्राममा मात्रै एक करोड ४४ लाख फलोअर रहेका छन्, जसमा उनले १४ जनालाई मात्र फलो गरेकी छन् ।

उनले सामाजिक सञ्जालबाट ‘ब्रेक’ लिन चाहेको कुरा इन्स्टाग्राम, फेसबुक, ट्वीटर गरी आफ्ना सबै सामाजिक सञ्जालका ह्याण्डलबाट शेयर गरेकी छन् ।

काजोलको फेसबुकमा दुई करोड फलोअर रहेका छन् भने ट्वीटरमा ३६ लाखले उनलाई फलो गरेका छन् । काजोलको यो पोस्टमा अनेक किसिमका कमेन्टहरू आइरहेका छन् ।

कसैले उनीसँग ब्रेक लिनुको कारण जान्न चाहेका छन् भने कसैले काजोलको यस प्रकारको निर्णयको सम्मान गर्दै उनको साथमा रहेको ढाडस दिएका छन् ।

पछिल्लो अध्यावधिक: जेठ २६, २०८० १८:५५