close

बेटिङको प्रचारमा कलाकारदेखि, टिकटकर र युट्युबरसम्म, पक्राउ गर्ने तयारीमा प्रहरी

टेकपाना टेकपाना

जेठ ३१, २०८० १७:८

बेटिङको प्रचारमा कलाकारदेखि, टिकटकर र युट्युबरसम्म, पक्राउ गर्ने तयारीमा प्रहरी

काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गर्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्र रूपमा हुन थालेपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कारबाहीको तयारी थालेको हो ।

वनएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टहरूलाई बुधबार सार्वजनिक गर्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बेटिङ प्रचारमा लाग्नेहरूलाई पनि कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको जानकारी दिएको हो ।

कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले बेटिङमा आकर्षण बढाउनेमा प्रचार गर्नेहरूको हात रहेकाले उनीहरूको खोजीकार्य सुरु भइसकेको जनाए ।

“बेटिङमा जसले प्रोमोसन गरिररेका छन्, उनीहरूलाई पनि पक्राउ गर्ने प्रक्रिया सुरु भएकाे छ,” एसएसपी केसीले भने, “अहिले सबै कुरा भन्न सकिने अवस्था छैन । तर, हामीले अपरेसन सुरु गरिसकेका छौं ।”

सट्टेबाजीमा सक्रिय हुनेबाहेक प्रचार गर्नेहरूको पनि यसमा उत्तिकै भूमिका रहेको भन्दै पक्राउ गर्नुपर्ने अवस्था आएको उनले सुनाए ।

याेसँगै सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट विभिन्न बेटिङ प्लेटफर्मको प्रचार गर्नेहरू प्रहरीको निगरानीमा पर्नेछन् । पछिल्लो समय युट्युब, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा नेपालमा प्रतिबन्धित अनलाइन बेटिङको प्रचार तथा खेल खेलाउने कार्य भइरहेको देख्न सकिन्छ । 

यसअन्तर्गत वनएक्स बेट, उल्फ ७७७, सीजी बुक लाइभ (सीजी बेट), फिफिया, बेट ३६५, मेल बेट जस्ता प्लेटफर्म सक्रिय छन् ।

युट्युबमा कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (मास्टर टिभी), प्र्याङ्कस्टार एलिश राई, कुशल पोखरेल, भ्लगर प्रिदेव जोशी, कलाकार पवन खतिवडा (द पीके भाइन्स) लगायतले यस्ता बेटिङ एपको खुलेआम प्रचार गरेको देखिन्छ । उनीहरूले सोझा मानिसहरूलाई गेम खेलेर वा गेमको प्रेडिक्सन गरेर घरमै बसीबसी पैसा कमाउन सकिने लोभ देखाउने गरेका छन् । यसका लागि उनीहरूले आफ्नो युट्युब च्यानलमा अपलोड भएका भिडिओ/वा डिस्क्रिप्सनमा बेटिङ एपको प्रोमो कोडसहित त्यससम्बन्धी प्रचार सामग्री राख्ने गर्छन् । 

मंगलबारमात्रै टेकपानाले चौधरी ग्रुपको नाम दुरूपयोग गरेर सीजीबेट नामको बेटिङ प्लेटफर्मको प्रचार भइरहेको भन्दै समाचार सम्प्रेषण गरेको थियो । सो बेटिङ प्लेटफर्मको नायिका सुष्मा कार्की, सुरविना कार्कीदेखि टिकटकररमोडेल उषा उप्रेती, सामरिका ढकाल लगायतले प्रचार गरेको भिडिओ देख्न सकिन्छ । 

अहिले सबैभन्दा बढी बेटिङ प्रचार टिकटकमार्फत भइरहेको छ । धेरै फलोअर भएका टिकटकरले यस्ता गेमिङ एपहरू प्रयोग गर्न उक्साउँदै खेल्ने तरिका सिकाउने गरेका छन् । यी टिकटकरले प्रचार गरेबापत त्यस्ता प्लेटफर्मबाट पारिश्रमिक लिने गर्छन् र अन्य मानिसहरूलाई गैरकानूनी कार्य गर्न प्रोत्साहन गर्छन् । 

सरकारले नेपालमा अनलाइन सट्टेबाजी गराउने वनएक्स बेट लगायतका वेबसाइटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपनि अनलाइनमार्फत सट्टेबाजी गर्ने/गराउने प्रवृत्तिमा नियन्त्रण हुन सकेकाे छैन ।

सम्बन्धित समाचार
सक्किगोनिले युट्युबबाट हटायो वनएक्सबेटको ‘प्रमोसन’, च्यानलको नाम समेत फेरियो 

पछिल्लो अध्यावधिक: जेठ ३२, २०८० ८:२२