close

बैंक वा वालेटको कर्मचारी हुँ भन्दै ओटीपी मागे नदिनूः राष्ट्र बैंक

टेकपाना टेकपाना

जेठ ३२, २०८० १५:१०

बैंक वा वालेटको कर्मचारी हुँ भन्दै ओटीपी मागे नदिनूः राष्ट्र बैंक

काठमाडौं । पछिल्लो समय स्क्यामर (अनलाइन ठग) ले विभिन्न बैंक र डिजिटल वालेटका ग्राहकलाई कल गर्दै ओटीपी (वन टाइम पासवर्ड) कोड मागेर अकाउन्टमा पहुँच बनाउने घटना बढेका छन् । यसैलाई मध्यनजर गर्दै नियामक नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई ओटीपी कोड कसैलाई शेयर नगर्न अनुराेध गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले कसैले ओटीपी कोड मागेमा उपलब्ध नगराउन र त्यसरी मागेको पाएमा रिपोर्ट गर्न सुझाव दिएको छ ।

"विगत केही समयदेखि अनधिकृत व्यक्तिहरूले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायकको कर्मचारी भएको भनी ग्राहकलाई ग्राहक पहिचान (केवाईसी) सम्बन्धी विवरण अद्यावधिक गर्न सम्बन्धित ग्राहकबाट वन टाइम पासवर्ड जस्ता विवरण माग्ने गरेको बुझिएको छ," विज्ञप्तिमा लेखिएको छ, "यस्ता अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ इन्टरनेट बैंकिङ/कनेक्ट आईपीएस/वालेट जस्ता विद्युतीय भुक्तानीका साधनको पासवर्ड रिसेट गरी ग्राहकको खातामा आफ्नो पहुँच पुर्‍याई ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवं वालेटमा रकमान्तर गर्ने प्रवृत्ति बढेको पाइएको छ ।"

यस्ता ठगीबाट जोगिन अपरिचित व्यक्तिले माग गरेका कुनै पनि सूचना उपलब्ध नगराउन बैंकले सचेत गराएको छ ।

त्यस्तै कसैले यस प्रकारका घटना सिर्जना गरेमा त्यसको जानकारी तत्कालै सम्बन्धित सेवाप्रदायक संस्था तथा बैंकलाई सूचना दिन अनुरोध गरिएको छ । यसैगरी उक्त सूचना राष्ट्र बैंकको ईमेल ठेगाना ([email protected]) मा पनि पठाउन सकिन्छ ।

राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थालाई यस्ता अवाञ्छित गतिविधिलाई सूक्ष्म रूपमा निगरानी गर्नसमेत निर्देशन दिएकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ ३२, २०८० १५:३१