close

‘घरमै बसी बसी पैसा कमाउनुहोस्’ भन्दै टिकटकरले गर्छन् बेटिङ प्लेटफर्मको प्रचार

टेकपाना टेकपाना

असार ४, २०८० १०:४८

‘घरमै बसी बसी पैसा कमाउनुहोस्’ भन्दै टिकटकरले गर्छन् बेटिङ प्लेटफर्मको प्रचार

काठमाडौं । सामाजिक सञ्जालमध्ये अहिले अत्यधिक प्रयोग हुने प्लेटफर्म हो, टिकटक । तपाईँ पनि टिकटकमा जोडिनु भएकै छ होला । छोटो भिडिओ शेयर गर्न मिल्ने प्लेटफर्मका रूपमा सुरु भएको टिकटकमा अहिले च्याटदेखि लाइभ स्ट्रिमिङसम्मका थुप्रै फिचर छन् । टिकटकमा लाइभ बसेर आम्दानी गर्नेहरू पनि प्रशस्त छन् ।

पछिल्लो समय यो प्लेटफर्मको दुरुपयोग हुने क्रम बढ्दो छ । टिकटकमा धेरै फलओर भएका व्यक्तिले नेपालमा गैरकानूनी अनलाइन सट्टेबाजी प्लेटफर्मको खुलेआम प्रचार गरिरहेका छन् । बेटिङ कम्पनीबाट पारिश्रमिक लिएर टिकटकरले सोझा प्रयोगकर्तालाई गैरकानूनी अनलाइन जुवाको धन्दामा फसाउन दुरुत्साहन गरेको पाइएको छ ।

यस्तो प्रवृत्ति बढ्दै गएपछि नेपाल प्रहरीले अनलाइन र सामाजिक सञ्जालमार्फत प्रचार तथा कारोबारमा संलग्न व्यक्तिहरूलाई निगरानी गर्न थालेको छ । "टिकटकमा पनि विभिन्न अनलाइन बेटिङ साइटको प्रचार बढेको छ । यसमा पनि हामीले अनुसन्धान गरिरहेका छौं," काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले भने, "हामी प्रमाणहरू संकलन गर्दैछौं । आवश्यक प्रमाणहरू जुटेपछि कारबाही अगाडि बढाउनेछौं ।"

टिकटकमा अहिले सबैभन्दा बढी वुल्फ ७७७ (woolf 777) नामको क्यासिनो वेबसाइटको प्रचार बढी भएको देखिन्छ । यस्तो धन्दामा नाम चलेका टिकटकर नै संलग्न छन् । टिकटकर बिनु अधिकारी, रेनिशा थापा, अञ्जन क्षेत्री, सुनिल श्रेष्ठ, प्रिनसिका श्रेष्ठदेखि फेसन काेरियाग्राफर रेनुका चाैधरी र चर्चित ‘डान्स कपल’ सराेज प्रजा र बिना राउतसम्मले वुल्फ ७७७ काे प्रचार गरेका छन् ।

उनीहरूले उक्त प्लेटफर्मलाई 'घरमै बसी बसी अनलाइन गेम खेलेर पैसा कमाउने सकिने प्लेटफर्म' भन्दै प्रचार गरेको देख्न सकिन्छ । साथै यसलाई एसियाकै नम्बर वन वेबसाइट हो र यो सुरक्षित रहेको अनि यसमा कुनै डकुमेन्ट नचाहिने भन्दै उल्लेख गरेका छन् ।

यो साइटमा ५०० बढी अनलाइन गेम छन् र यसमा आफ्नै बैंक खाताबाट पैसा डिपोजिट र विथड्र गर्न सकिन्छ भनेर पनि उनीहरूले प्रचार गरिरहेका छन् । यी भिडिओमा लाखाैंकाे भ्युज देख्न सकिन्छ, जहाँ वुल्फ ७७७ प्रयाेग गर्न प्राेत्साहन गर्दै नाटकीय शैलीका संवाद बाेलिन्छ ।

सबैले आफ्नो भिडिओमा यो एसियाकै नम्बर वन साइट रहेको र सुरक्षित रहेको दाबी गरेका छन् । जब कि यसको आधिकारिक वेबसाइटमा भने यसलाई लाइभ क्यासिनो गेम भनेर परिचित गराइएको छ ।

पैसाको प्रलोभनमा परी टिकटकर/इन्फ्लुएन्सरले देशमा प्रतिबन्धित बेटिङ साइटहरूको प्रचार गर्दा सर्वसाधारण गलत काम गर्न पुग्ने प्रहरीकाे निष्कर्ष छ । ''हामीले थुप्रै प्रमाण संकलन र आन्तरिक अनुसन्धान गरिरहेका छन् । गलत क्रियाकलापमा लाग्ने जोकोही कानूनी दायरमा आउनुपर्छ,'' एसएसपी केसीले टेकपानासँग भने ।

पछिल्लो समय बेटिङ खेलाउने र खेल्ने व्यक्तिहरूसँगै प्रचारमा संलग्न व्यक्तिहरूलाई प्रहरीले कारबाहीको दायरामा ल्याउन थालेपछि टिकटकरले आफ्नो अकाउन्टमा अपलोड गरेका यस्ता प्रचारात्मक भिडिओ सुटुक्क डिलिट गर्न थालेका छन् । 

पछिल्लो अध्यावधिक: असार ४, २०८० ११:२४