close

आईफोन मर्मत सिकाउने दीपक, उनका ३०० बढी प्रशिक्षार्थीले खोलेका छन् मोबाइल मर्मत केन्द्र

टेकपाना टेकपाना

असार ७, २०८० १२:१

आईफोन मर्मत सिकाउने दीपक, उनका ३०० बढी प्रशिक्षार्थीले खोलेका छन् मोबाइल मर्मत केन्द्र

काठमाडौं । अर्घाखाँचीमा जन्मेका दीपक पोखरेलले एक समय ब्रिटिश आर्मी बन्ने सपना देखेका थिए । बुबा भारतीय आर्मी भएकैले उनी पनि ब्रिटिश लाहुरे बन्ने धुनमा लागे । तर उमेर हदका कारण उनको त्यो सपना पूरा भएन । 

यद्यपि अहिले बुबाकै सपनामा बाँचिरहेका उनी बिग्रेका मोबाइल तथा ल्यापटप मर्मत ( रिपेयर) गर्ने टेक्निसियन तयार पार्ने प्रशिक्षक हुन् । 

काठमाडौंको पुतलीसडकमा उनको एलायन्स प्रालि नामक कम्पनी छ । त्यहीं उनको दैनिक १५/१६ घण्टा बित्छ । 

कार्यालयका भित्ताभित्तामा विभिन्न इलेक्ट्रिक सङ्केतहरू राखिएका छन् । नजिकै मनिटरमा ल्यापटप बनाउँदै गरेका भिडिओ प्ले भइरहेका हुन्छन् । शौचालय जाँदा समेत देखिने गरी प्राविधिक सिकाइ सम्बन्धी विभिन्न चित्र/सङ्केत झुन्ड्याइएका छन् । 

तालिममा सिकाउने २५ प्रतिशत कोर्ष त यसैगरी राखिएको पोखरेलको भनाइ छ । यसको कारण विद्यार्थीको दिमागबाट ‍पढाइका कुरा बाहिर जान नदिनु रहेको उनी बताउँछन् ।

त्यस्तै एकातिरको सिङ्गो भित्तामा उनले पाएका विभिन्न प्रमाणपत्र सजाइएका छन् । ‘इम्पावरिङ युथ विथ एलायन्स’ उनको कम्पनीको नारा नै हो । 

युवाको सङ्गठन बनाएर प्रविधिमा केही गर्न सकिन्छ कि भनेर यो नारा राखिएको पोखरेल  बताउँछन् । यहाँ पढेका करिब ३०० विद्यार्थीले देशका विभिन्न स्थानमा मोबाइल तथा कम्प्युटर मर्मत केन्द्र खोलिसकेका छन् । 

सयौं विद्यार्थी उनको प्रशिक्षण केन्द्रमा तालिम लिन आउँछन् । कम्प्युटर सम्बन्धी तालिम दिन उनको संस्थाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन प्राप्त गरेको छ ।

यहाँ जसलाई मोबाइल तथा कम्प्युटर मर्मत सम्बन्धी जुन तालिम चाहिएको छ, आवश्यकता अनुसार त्यही दिइन्छ । यसले सिकाइमा लचकता दिएको एलायन्सका संस्थापक पोखरेलको बुझाई छ । 

उनले गृह जिल्ला अर्घाखाँचीबाटै एसएलसी उत्तीर्ण गरे । त्यसपछि प्लस टु पढ्न काठमाडौं हानिए । आर्मी हुन नसकेपछि उनी निराश थिए ।

बुबाले ‘प्रविधिको क्षेत्रमा जान’ प्रेरित गरिरहेका हुन्थे । त्यसपछि उनी नेटवर्क, हार्डवेयर आदि काम सिक्नतर्फ लागे । प्लस टुमा व्यवस्थापन विषय लिएर पढे । स्नातक तह पूरा नहुँदै उनले पढाइ बीचैमा छाडिदिए ।

कक्षा १२ लगत्तै विद्युतीय काम सिक्न थालेका थिए । तर बढी हार्डवेयरको क्षेत्रले उनलाई तान्यो । त्यस बेलासम्म एमसीआईटीपी (माइक्रोसफ्ट सर्टिफाइड आईटी प्रोफेसनल), सीसीएनए (सिस्को सर्टिफाइड नेटवर्क एसोसिएट) जस्ता प्रमाणपत्र पाइसकेका थिए । 

सिस्को सर्टिफाइड नेटवर्क प्रोफेसनल सर्टिफिकेसन (सीसीएनपी) का लागि उनी भारत लागे । त्यहाँ उनले थुप्रै कुरा सिके । केही समय काम पनि गरे । आफूले सिकेको कुरा नेपालमा धेरैलाई सिकाउँछु भन्ने सोचका साथ उनी नेपाल फर्किए । 

एलायन्समा विशेषत: मोबाइल फोन र ल्यापटप मर्मत सम्बन्धी तालिम दिइन्छ । यसका लागि यहाँ तीन ओटा ल्याब तयार पारिएका छन् । पहिलो ल्याबमा आधारभूत कक्षा हुन्छ ।

जहाँ विद्यार्थीलाई इलेक्ट्रिकल ज्ञान, बोर्डहरूमा हुने कम्पोनेन्ट, तिनको वर्किङ्ग प्रिन्सिपल जस्ता विषय सिकाइन्छ । यद्यपि कुनै पनि ट्रेनिङ सेन्टरमा ६/७ महिना तालिम लिएर कोही पनि दक्ष नबन्ने पोखरेलको बुझाई छ । 

“यहाँबाट विद्यार्थीले ज्ञान लिएर जाने हो, त्यसलाई प्रयोग गर्ने हो,” उनी अगाडि भन्छन्, “प्रविधि धेरै अगाडि पुगिसकेको छ । त्यसैले प्रशिक्षार्थीहरूलाई फ्रेश/अन टच बोर्डमा अभ्यास गराउँछौं ।”

 

विद्यार्थीको स्तर अनुसार आवश्यक टूलहरू यो ल्याबमा राखिएका छन् । यहाँ अधिकतम १७-१८ विद्यार्थीलाई पढाइन्छ । 

दोस्रो ल्याब मोबाइलमा केन्द्रित छ । यो ल्याबमा ल्यापटप राखिएका छैनन् ।  आईफोनको तालिम लिन एन्ड्रोइडको ज्ञान अनिवार्य हुनुपर्ने पोखरेल सुनाउँछन् ।

त्यसैले धेरै प्रशिक्षार्थी एन्ड्रोइडको तालिम लिइरहेका हुन्छन् । यसरी तालिम नलिई जाँदा वा पहिले काम नगरी जाँदा गाह्रो हुन्छ । आईफोनका सर्किट एन्ड्रोइडको तुलनामा जटिल हुन्छन् । 

सामान्यतः आईफोनको तालिम एन्ड्रोइडको भन्दा महँगो पनि छ । रिपेयरिङ गर्दा चाहिने सामग्री पनि महँगै हुन्छन् । यद्यपि ठूलो लगानी गरेर सुरु गरिएका पसलले किन्ने २५ प्रतिशत आईफोन मर्मतका सामग्री एन्ड्रोइडका लागि पनि उपयोग हुने पोखरेल बताउँछन् । 

यो ल्याबमा तालिम अवधि फरक-फरक हुन्छ । तर बढीमा एक महिनाभन्दा लामो हुँदैन । देशका विभिन्न भागबाट तालिम लिनेहरू यहाँ आउँछन् । कोही आफ्ना चलिरहेको मोबाइल पसल समेत बन्द गरेर यहाँ तालिम लिन आउँछन् । कोही आफ्नो सीप थप निखार्न आएका हुन्छन् । 

तिनै मध्येका एक हुन् झापा दमक घर भएका नवीन बजगाईं । उनले चार/पाँच वर्षअघि मोबाइल मर्मत सम्बन्धी आभारभूत तालिम लिएका थिए । उनी दमकमा एन्ड्रोइड फोन मर्मत गर्ने पसल चलाउँछन् ।

आईफोन र एन्ड्रोइड दुवैको एड्भान्स तालिम लिन आफू यहाँ आएको उनले सुनाए । सिकाइका आधुनिक प्रविधि, हरेकका लागि एउटा छुट्टै सेटअप, दक्ष प्रशिक्षक भएकाले यो इन्स्टिच्युट आफ्नो रोजाइमा परेको उनले बताए । 

तनहुँका शिवबहादुर श्रेष्ठ सीटीईभीटीले पोखरामा दिएको कम्प्युटर रिपेयरिङको तालिममा सहभागी भएका थिए । तर उनलाई त्यो तालिम पर्याप्त लागेन । त्यसपछि एलायन्समै आएर उनले ल्यापटप र एन्ड्रोइडको तालिम लिए । अहिले उनी आफ्नो सीप तिखार्न आएको सुनाउँछन् । 

यहाँ अहिले उनी आईफोन मर्मत सम्बन्धी तालिम लिइरहेका छन्  । एसईईको परीक्षा दिए लगत्तै उनले यो काम गर्न थालेका थिए । युट्युबबाट यस्तो सीप सिक्न नसकिने उनको बुझाई छ । 

उनका अनुसार युट्युबको भिडिओबाट विभिन्न ‘ट्रिक्स एन्ड टिप्स’ सिक्न सकिँदैन । उनी युट्युबरले त्यस्ता कुरा लुकाउने गरेको ठान्छन् ।  

तेस्रो ल्याबमा विभिन्न मसिन राखिएका छन् । जसमा लेजर, पन्चिङ, बल ग्रिड एरे (बीजीए) जस्ता आधुनिक मसिन देख्न सकिन्छ । आईफोनका फुटेका ब्याक ग्लास रिपेयर गर्न लेजर मसिन आवश्यक पर्छ । 

पोखरेलका अनुसार एसएमडी (हट गन प्रयोग गरी बिग्रेको ग्लास निकाल्ने काम) बाट पनि  ब्याक ग्लास रिपेयरको काम गर्न सकिन्छ । तर त्यसो गर्दा वायरलेस कनेक्सन बिग्रने, सेटमा हिटिङको समस्या आउने, क्यामेरा नचल्ने, लाइट बिग्रने, जस्ता समस्या आउने उनी बताउँछन् । 

त्यस्तै बिग्रेका डिस्प्ले परिवर्तन गर्न पन्चिङ मसिन प्रयोग हुन्छ । यता बल ग्रिड एरे (बीजीए) भने कम्प्युटर चिपमा समस्या आउँदा त्यसलाई मर्मत गर्न प्रयोगमा आउँछ । यो ‘नर्मल’ र ‘अटोमेटेड’ गरी दुई प्रकारको हुन्छ । अलायन्समा अटोमेटेड मसिन छ । 

यहाँ आउनेहरूलाई उनले निश्चित शुल्क लिएर तालिम दिन्छन् । सुरुमा उनीहरूले तीन दिनसम्म नि: शुल्क कक्षा लिन पाउँछन् । उक्त अवधिमा सिकाइ चित्त बुझेपछि उनीहरूले नियमित कक्षा लिने प्रक्रिया अगाडि बढाउन सक्छन् । 

यहाँबाट तालिम पूरा गरेका विद्यार्थीहरूलाई महँगा सामान खरिद गर्नुको साटो सेवाको गुणस्तर बढाउनुपर्नेमा उनले जोड दिने गरेका छ्न् । त्यस्तै रिपेयर गर्दा कठिनाइ आए अलायन्ससँग सहकार्य गर्ने अवसर समेत खुला नै रहेको उनी बताउँछन् । 

त्यसो त अलायन्समा तालिमसँगै मोबाइल तथा कम्प्युटर मर्मतको काम पनि हुन्छ । यद्यपि यो कम्पनी रिपेयरभन्दा तालिममै बढी केन्द्रित छ । “जब रिपेयरको काम नै हुँदैन, तब तालिम दिन सकिँदैन ।

रिपेयरमा केके आउँछन् भनेर विद्यार्थीलाई तालिम दिन सकिएन भने विद्यार्थीलाई सिकाउन सकिँदैन,” उनी भन्छन्, “यति गर्दा त तालिम लिन आएकाहरू बजारमा जाँदा केही दिन अलमलमा पर्छन् । त्यसैले हामी रिपेयर र तालिमलाई सँगसँगै लगिरहेका छौं ।” 

पछिल्लो अध्यावधिक: असार ७, २०८० १२:१