काठमाडौं । ओपन सोर्स अस्कल सर्कल र फ्लोरोसेन्ट माध्यमिक विद्यालयको आयोजनामा दुई दिने ह्याकाथन हुने भएको छ । ओपन म्यापिङ हब एसिया प्यासिफिकले सहयोग गरेको सो ह्याकाथन साउन ६ र ७ गते फ्लोरोसेन्ट माध्यमिक विद्यालयमा हुनेछ ।
ह्याकाथनमा सहभागीले ओपन स्ट्रिट म्याप र त्यससँग सम्बन्धित टुल प्रयोग गरी कुनै पनि प्रडक्ट बनाउन सक्नेछन् । त्यसबाहेक कार्यक्रममा सहभागीले ओपन स्ट्रिट म्यापका विशेषता, यसको आवश्यकता र चुनौतीबारे बुझ्न पाउनेछन् ।
ओपन स्ट्रिट म्याप एउटा यस्तो ओपन सोर्स म्यापिङ प्लेटफर्म हो, जसले प्रयोगकर्ताहरूलाई विश्वव्यापी रूपमा उपलब्ध भएका म्यापको डेटा उपलब्ध गराउँछ । सहभागीले यस्तो डेटालाई आवश्यकता अनुसार कट्रिब्युट, एडिट र एक्सेस गर्न सक्छन् ।
फेसबुक, उबर, ग्र्याब, फोरस्क्वायर, पोकेमन गो, फ्लाइट सिमुलेटर, म्यापबक्स जस्ता प्लेटफर्मले ओपन स्ट्रिट म्यापको डेटालाई मान्यता दिएका छन् ।
आयोजकका अनुसार ह्याकाथनमा जुनसुकै उमेर समूहका मानिसहरू सहभागी हुन सक्नेछन् । इच्छुक सहभागीले सबैभन्दा पहिले आफ्नो टिम बनाउनुपर्छ । टिममा कम्तिमा दुई र बढीमा चार जना हुन पाउनेछन् । त्यसपछि यहाँ क्लिक गरी असार २७ गतेसम्म रजिस्टर गरिसक्नुपर्छ ।