close

थ्रेड्स अकाउन्ट डिलिट गर्ने भए इन्स्टाग्राम पनि डिलिट गरः मेटा

टेकपाना टेकपाना

असार २२, २०८० १२:५७

थ्रेड्स अकाउन्ट डिलिट गर्ने भए इन्स्टाग्राम पनि डिलिट गरः मेटा

काठमाडौं । ट्वीटरको विकल्पमा आएको इन्स्टाग्रामको नयाँ एप थ्रेड्सले यतिबेला चर्चा पाइरहेको छ । चर्चासँगै यो एप विभिन्न विवादमा समेत तानिएको छ । त्यसको एउटा प्रमुख कारण हो, अकाउन्ट डिलिट । यसो त थ्रेड्सको युजर इन्टरफेस तथा त्यसमा भएका अन्य फिचरले तपाईं त्यस एपबाट टाढा जानुपर्ने बाध्यता नआउन सक्छ ।

तर, केही गरी अकाउन्ट डिलिट गर्नुपर्ने अवस्था आए के गर्ने ? हाल थ्रेड्समा अकाउन्ट डिएक्टिभेट गर्ने सुविधा मात्र छ । सम्पूर्ण रूपमा इन्स्टाग्राममा निहित भएकाले प्रयोगकर्ताले आफ्नो थ्रेड्स अकाउन्ट डिलिट गर्न इन्स्टाग्राम अकाउन्ट नै डिलिट गर्नुपर्ने हुन्छ ।

मेटाको सप्लिमेन्टल प्राइभेसी पोलिसीमा लेखिएको छ, “तपाईं जुनसुकै समयमा आफ्नो थ्रेड्स प्रोफाइल डिएक्टिभेट गर्न सक्नुहुन्छ । तर थ्रेड्स प्रोफाइल त्यतिबेला मात्र डिलिट हुन्छ, जब तपाईं त्यससँग जोडिएको इन्स्टाग्राम अकाउन्ट डिलिट गर्नुहुन्छ ।

अकाउन्ट डिएक्टिभेट गरेको अवस्थामा जुनसुकै बेला पनि अकाउन्ट फिर्ता ल्याउन सकिन्छ । त्यस्तै डिएक्टिभेट गरेको अकाउन्टले गरेको लाइक, रिप्लाई सबै हाइड (डिएक्टिभेट गरेको समयसम्म हटाइएको हुन्छ) गरिने मेटाले उल्लेख गरेको छ ।

तपाईंले पुनः अकाउन्टमा लगइन गरेर अकाउन्ट एक्टिभ बनाउन सक्नुहुन्छ । मेटाले साइनअप गर्दा टर्म्स एन्ड कन्डिसनमा यो कुरा उल्लेख गरेको छैन । त्यसैले विश्लेषकहरूले पोलिसीमा राख्ने, तर टर्म्स एन्ड कन्डिसनमा अकाउन्ट डिलिटको कुरा समावेश नगर्नुलाई प्रयोगकर्ताको हितमा नभएको तर्क दिएका छन् ।

पछिल्लो अध्यावधिक: असार २२, २०८० १३:१२