close

सार्वजनिक भएयता पहिलो पटक घटे च्याटजीपीटी प्रयोगकर्ता

टेकपाना टेकपाना

असार २५, २०८० ११:२०

सार्वजनिक भएयता पहिलो पटक घटे च्याटजीपीटी प्रयोगकर्ता

 

काठमाडौं । सन् २०२२ को नोभेम्बरमा सार्वजनिक भएकाे च्याटजीपीटीले आठ महिनाकाे अवधिमा पहिलाे पटक प्रयाेगकर्ता गुमाएकाे छ । ओपनएआईले तयार पारेको याे एआई च्याटबटमा पहिलाे पटक  प्रयोगकर्ता घटेका हुन् ।

इन्टरनेट एनलिटिक्स कम्पनी सिमिलरवेबकाे तथ्याकं अनुसार गत महिना च्याटजीपीटीकाे प्रयोग मोबाइल र डेस्कटप दुवैमा विश्वव्यापी रूपमा ९.७ प्रतिशतले घटेको छ ।

 

यसअन्तर्गत जुन महिनामा च्याटजीपीटीका सक्रिय प्रयोगकर्ता २० लाखले घटेको देखिन्छ । मे महिनासम्ममा एक अर्ब ८० लाखको हारहारीमा रहेको सक्रिय प्रयोगकर्ता संख्या जुन महिनामा एक अर्ब ६० मा खुम्चिएकाे छ । जुलाई महिनाकाे पहिला हप्ता सकिँदासम्म पनि प्रयाेगकर्ताकाे ग्राफ ओरालो लागिरहेकाे छ । 

यसको साथै एप ट्र्याकर सेन्सर टावरले पनि च्याटजीपीटीको प्रयोग आईओएसमा घटेको तथ्याङक सार्वजनिक गरेको छ ।

यस विषयमा ओपनएआईले भने कुनै पनि आधिकारिक धारणा दिएकाे छैन । सिमिलरवेबका अनुसार च्याटजीपीटीसँगै माइक्रोसफ्ट बिङ, गुगल बार्ड र क्यारेक्टर एआईको पनि वेब भर्सन भिजिट गर्ने संख्या कम भएको छ । 

द वाशिङ्टन पोस्टले हाल धेरैजसो विद्यालयहरू छुट्टी भएको र विद्यार्थीहरू पढाइमा त्यति सक्रिय नभएका कारण च्याटजीपीटिको प्रयोग घटेको उल्लेख गरेको छ ।

साथै सामसङ लगायत विभिन्न कम्पनीहरूले डेटा लिक हुने डरले कर्मचारीलाई एआई च्याटबटहरू प्रयोग नगर्न दिएको निर्देशनका कारण पनि प्रयोगकर्ता घटेको हुनसक्ने अनुमान गरिएको छ । त्यस्तै बजारमा अन्य एआई च्याटबटको उदयले पनि च्याटजीपीटीको विस्तारलाई चुनौती दिइरहेको छ ।

पछिल्लो अध्यावधिक: असार २५, २०८० ११:२०